वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि सुद्धिकरण गर्नुपर्ने लक्ष्य लिएर यहाँका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सहरु निरन्तर आन्दोलनमा छन् । उनीहरु हरेक दिन बिहान उपकुलपति कार्यालयअघि विरोधसभा र र्याली गर्छन् । संयुक्त संघर्ष समितिले आजदेखि भने आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन शुरु गरिसकेको छ ।

आन्दोलनमा सक्रिय सहभागीता जनाइरहेको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले हिजो आइतबार विरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रतिष्ठानको बेथितीहरुबारे बोलेका थिए, भने विरामीहरुले भोगिरहेको पीडालाई पनि उजागर गरेका थिए । उनको सम्बोधनको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

म आउदा कति रमाइलो ठाउँ छ, स्वर्ग जस्तो लाग्यो । यहाँ भित्र छिरेपछि लाग्यो, बाहिरबाट हेर्दा राम्रो देखेपनि भित्रभित्र ध्वस्त, जर्जर बनाइएको रहेछ । यहाँभित्रका धमिराहरुले कमसल बनाइरहेको रहेछ । 

काम गर्ने कर्मचारीहरुलाई देश वा संस्थाले तलब खुवाउन सक्दैन भने सकियो, ध्वस्त भयो भने हुन्छ । यहाँ तलब खुवाउन सकिएको छैन । किन भन्दा, जवाफ हुन्छ, पैसा छैन । के फ्याकल्टीहरुले काम नगरेर पैसा नभएको हो ? के हामी विद्यार्थीहरुले हिनामिना गरेको, पैसा लुटेर आर्थिक अवस्था टाट पल्टाएको हो ? होइन नि त । अनियमितता गर्न केही मुट्ठी भरका मान्छे होलान्, पदाधिकारीहरु होलान्, कति जिम्मेवार व्यक्तिहरु नै होलान्, उहाँहरुले नै प्रतिष्ठानलाई यस्तो बनाएको हो ।

एउटा उदाहरण दिन्छु, एउटा जग्गा करोडौंमा किनेर, करोडौंमा भवन बनाएर, करोडौंमा मेशिनहरु किनेर हस्पिटल खुल्छ । अरबौं लगानी गरेको हुनसक्छ । हामीले देख्दा देख्दै, सुन्दा सुन्दै हिजो स्थापना भएको नोबेल देशभरि कतिवटा कलेज किनिसकेको छ । त्यसरी ऋणमा खोलेका कलेजहरु गइरहदा सरकारले जग्गा दिएको छ, जनताले जग्गा दिएको, विदेशीले मेशिन दिएको छ, यत्रा भवनहरु भारतीय दुताबासले बनायो, ब्रिटिश सरकारले बनायो, सरकारले बनायो । मेशिन उपकरण खरीद गर्न हरेक बर्ष अरबौं पैसा आउछ । तर यसलाई डुबाउने काम कसले गरेको छ ? यसलाई चुस्ने कसले गरेको छ भन्दा यहाँका जिम्मेवार व्यक्तिहरु र तिनका आसपासका चलने, तिनका चम्चेगिरी गर्नें, व्यापारीहरुसँग साँठगाँठ गर्ने एउटा तत्व छ, तिनीहरुलाई पहिचान गरिसकेका छौं ।

padam

यस्ता व्यक्तिहरु चिन्छौं, जतिसुकै गाडी चढोस्, जतिसुकै रवाफ देखायोस्, यसले भ्रष्टचार गरेको छ भनेर हामीले थुक्नु पर्छ, तिरस्कार गर्नुपर्छ । वीपी डुबाएर आफ्नो रवाफ देखाउने व्यक्तिहरु शिर ठाडो पारेर आर्थिक दबादबा देखाएर हिडेका छन्, तिनीहरुलार्य धिर्कार्नु पर्छ । यहाँ एमआरआई हुदैन । पहाडबाट डोकोमा विरामी बोकेर, खसी बाख्रा बेचेर आएको हुन्छ, वीपी आशाको धरोहर हो । यहाँ मान्छे पुगेपछि म बाँच्छु होला भन्ने हुन्छ । रोगबाट मर्न लागेको मान्छेलाई सिधै मारिन्छ, किनभने आर्थिकरुपमा मर्छ । यहाँ १० हजारमा हुने एमआरआई गर्न नाबेलमा २० हजारमा गर्न पुग्नुपर्छ । 

यहाँका ल्याबहरु जर्जर बनाइएको छ, युएसजी मेशिनहरु पर्याप्त मात्रामा छैन । दिनभरि ५० जना विरामी आयो भने सबैलाई सेवा दिने अवस्था छैन । एक्स रे बिग्रियो भनेर विल काटी सकेको विरामीलाई फिर्ता पठाइन्छ । 

शुरुमा म आउदा यहाँको स्वास्थ्य सेवा कस्तो पहुँचमा रहेछ भनेर बुझ्न चाहे । हेल्थ चेकअप गराउन अनुभव गरौं न त भनेर टिकट काट्न लाइन लागे, साढे २ घण्टा लाग्यो । रगत जचाउन पर्यो भनेर ल्याबमा गए, ३, ४ घण्टा लाइन लागे । ट्वाइलेट त्यतिकै गह्नाउछ, अस्तब्यस्ततता छ, बल्लबल्ल लाइन लागेर स्याम्पल दिदा बेलुका साढे ३ बज्यो, अब भोली आउनुस् भन्यो । म त स्वास्थ्य मान्छे थिए, हिड्न सक्थे । तर, कुनै विरामी छ भने दिनभरि लाइन बसेर पनि डाक्टर देख्न पाउदैन ।

कहिले कही अलिक विरामी ढिला आयो भने मलाई गर्दिनुस् न डाक्टर भन्दा हामी रिसाउछौं । तर हाम्रो यहाँ कस्तो छ त व्यवस्था ? त्यसरी दिनभरि कुरेर भोलीपल्ट रिपोर्ट लिन २, ३ घण्टा लाइन लागेर आएको मान्छे त पक्कै पनि रिसाउछ । यो किन भएको छ भन्दा मान्छे जति राखिएको छ, परिचालन गरिएको छैन । काममा राखिएको छैन । एउटा मेशिन ल्याब टेष्ट गर्ने नयाँ उच्च क्षमताको ल्याउने हो भने सयौं टेष्ट एकैछिनमा गराइदिन्छ । तर यहाँ पुराना मेशिन राख्ने, महंगोमा रिएजेन्ट किन्ने, त्यही रिएजेन्ट किनेको पैसा गोजीमा हाल्ने, रमाउने । विरामीलाई यस्तै दुःख दिइरहने हो । यस्तो समस्याले वीपी आज डुबेर यस्तो ग्रसित अवस्थामा आएको हो ।