धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ ।

बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम कबुल गर्ने दुहबीको विकोइ–गीताञ्जली जेभीको बेलपत्र स्वीकृत भएको उपमहागनरपालिकाले जानकारी दिएको छ । यो कम्पनीले २० करोड* १८ लाख ४६ हजार १३१ रुपैयामा ठेक्का पाएको छ ।

आयोजना प्रमुखसमेत रहेका राजश्व शाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार प्राविधिकरुपमा सफल भएको र सबैभन्दा कम रकम कबोल गरेको कम्पनी छनौट भएको बताए । उक्त कम्पनीको कबोल स्वीकृत भएको जानकारीको सुचना जारी भएको खुलाउदै खतिवडाले ७ दिनभित्र कसैको दाबी विरोध गर्नसक्ने र त्यसपछि सम्झौता गरेर निर्माण कार्य अघि बढ्ने बताए । ‘कुन कम्पनीको बोलपत्र स्वीकृत भयो भनेर जानकारी दिनको लागि ७ दिनको सुचना जारी भएको हो, त्यसपछि १५ दिनभित्र सम्झौता गर्न बोलाइन्छ, र निर्माण कार्य अघि बढ्छ,’खतिवडाले भने ।

निर्माण कार्य ३ बर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । अहिले बसपार्कको टर्मिनल भवन, पार्किङ एरिया, सार्वजनिक शौचालयलगायतको भौतिक निर्माण कार्य हुन्छ । तीन तलाको डिजाइन भएको यो बसपार्कको बेसमेन्टमा पार्किङ मात्र हुनेछ । त्यहाँ सुमो, हायस, कारलगायत २ सय संख्यामा साना गाडी पार्किङ हुनेछ भने डेढ सय हाराहारीमा मोटरसाइकल पनि अट्ने क्षमता रहनेछ । ग्राउण्ड फ्लोरमा टिकट विभिन्न रुटमा छुट्ने गाडीहरुको राख्ने संरचना बन्ने छ । साथै, टिकट काउन्टर, यात्रुहरुलाई वेटिंग, सेक्युटिरी, शौचालयलगायत संरचना हुनेछ । तेस्रो तलामा आफिस प्रयोजन, रेष्टुरेष्ट वा अन्य सेवाहरु पनि हुनेछ ।

dharan-smart-buspark2

बसपार्क निर्माण गर्ने मुख्य उद्देश्य राखेर शुरु भएको आयोजना डेढ दशकदेखि विवादको कारण अलपत्र परेको थियो । बसपार्कलाई आवश्यक जग्गा स्थानीयबासीले उपलब्ध गराएको हो । बसपार्कबाहेक सेल्स प्लटको जग्गा पनि स्थानीयले नै दिएको हो । राजनीतिक खिचातानी र जग्गा व्यापारीहरुसँग मिलेर कर्मचारीहरुले नै जग्गा किनेर सुविधायुक्त ठाउँमा आफ्नो जग्गा राखेको भन्दै जग्गाधनीहरु असन्तुष्ट भई विरोध गरेपछि आयोजना अघि बढ्न सकेको थिएन । २०७४ को स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर स्वर्गीय तारा सुब्बाले यो आयोजनाको विवाद समाधान गर्न र निर्माण कार्य अघि बढाउन उपमेयर मञ्जु भण्डारी सुवेदीलाई जिम्मेवारी दिएका थिए । उनले पटक पटक स्थानीय जग्गाधनीहरुसँग छलफल गर्दै समस्या हल गर्न पहल गरेकी थिइन् । ‘आयोजना र बसपार्क निर्माण कार्य अब कार्यान्वयनतिर अघि बढ्यो, यो सम्पुर्ण धरानबासीहरुको लागि खुशीको कुरा हो,’उनले भनिन् ।

यो बसपार्क निर्माणको लागि संघीय सरकारको ससर्त अनुदानको बजेट उपलब्ध हुनेछ । संघीय सरकारको २५ करोडको ससर्त अनुदानको बजेटबाट उपमहानगरले बसपार्क निर्माण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव चालु आर्थिक बर्षमा नै स्वीकृत भएको थियो । ससर्त अनुदानको २५ करोड बजेटमा संघीय सरकारले ५० प्रतिशत साढे १२ करोड उपलब्ध गराउनेछ भने बाँकी ५० प्रतिशत उपमहानगरले ३ बर्षमा व्यहोर्नुपर्ने हुन्छ । उपलब्ध हुने बजेट अनुसार निर्माण गर्न उपमहानगरपालिकाले केही समयअघि डिपिआर पनि संशोधन गरिसकेको छ ।

उपमहानगरपालिकाले आयोजनाअन्तर्गत सडक, ड्रेनलगायत निर्माण कार्यको लागि अर्को प्याकेजमा पनि टेण्डर गरिसकेको जनाएको छ। उक्त कार्यको मुल्यांकनको प्रक्रिया भइरहेको छ । बसपार्क निर्माणसँगै आयोजनाभित्रको सडकहरुको काम पनि शुरु हुने भएकोले सम्पुर्ण आयोजना नै कार्यान्वयनतर्फ अघि बढेको आयोजना प्रमुख खतिवडाले बताए । 

*२० करोड लागत हुनुपर्नेमा फरक अंक भएको हुनाले सच्याइएको छ । सम्पादक