धरान: आन्दोलनरत पक्ष र पदाधिकारीहरुबीच वार्ताको वातावरण बनाउन आएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु वार्ता नगराई फर्कने भएका छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्हिगमन हुनुपर्ने, उच्चस्तरीय वार्ता समिति गठन हुनुपर्ने अडान राखेपछि मन्त्रालयको प्रतिनिधिहरु वार्ता शुरु नगराई फर्कने भएका हुन् । वार्ता गराउन नसके पनि उनीहरुले प्रतिष्ठानको वर्तमान परिस्थितिबारे एक रिपोर्ट तयार गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा बुझाउने छन् । प्रतिष्ठानमा वार्ता शुरु गराउन समन्वयकारी भुमिकाको लागि मन्त्रालयबाट डा.रोशन पोखरेल र डा.मदन उपाध्यय आएका छन् ।
दुवैले आन्दोलनकारी र पदाधिकारीहरुसँग छुट्टा छुट्टै छलफल गरेका थिए । साथै, सरोकारवाला पक्षहरुसँग पनि प्रतिष्ठानको अवस्था र समाधानबारे राय बुझ्ने डा.पोखरेलले बताए । ‘आन्दोलनरत पक्षले पदाधिकारीहरुको बर्खास्त वा राजिनामा दिनुपर्ने भनेपछि वार्ता हुन सकेन, यद्यपी हामी यहाँको समस्याबारे र समाधान हुने गरि रिपोर्ट तयार गछौं,’डा.पोखरेलले भने,‘प्रधानमन्त्री कार्यालयबाट छानबिन समिति गठन गर्ने वा उच्चस्तरीय वार्ता समिति बनाउने पनि हुनसक्छ ।’