धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट पारित गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न नगरसभा बैठकले विनियोजन विधेयक सर्वसम्मतरुपले पारित गरेसँगै आगामी आर्थिक बर्षको बजेट पारित भएको हो । असार १० गते उद्घाटन भएको नगरसभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले २ अर्ब ३ करोड ६४ लाखको बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाको हिजोको बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक(आय) पारित गरेको थियो । विनियोजन विधेयक(व्यय) पनि पारित भएपछि नवौं नगरसभा पनि सम्पन्न भएको राजश्व महाशाखा प्रमुख एवं सुचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।

शनिबारको बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले हाल उपचाररत वडा न. २ की सदस्य सन्ध्या श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । ‘बजेटबारे कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरसभाबाट पारित गरेको छ, केही साथीहरुले बजेट केन्द्रीकृत भयो भन्ने कुरा पनि राख्नुभयो, तरपनि बजेट पारित भयो,’नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले भने,‘नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै नवौं नगरसभा पनि सकियो ।’