धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक *अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ ।
धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । प्रर्दशनमा नागरिक दबाब सञ्जाल, ९ दलीय संयन्त्र र वीपी प्रतिष्ठानको संयुक्त संघर्ष समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । सहभागीहरुले भानुचोकमा उभिएर पक्राउ परेका नागरिक अगुवाहरुको रिहाईको माग गरेका थिए ।
कार्यक्रमलाई दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माले पक्राउ परेका २६ जना अगुवाहरुलाई तत्काल रिहाई गर्न माग गरे । साथै, वीपी प्रतिष्ठानको समस्या समाधान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न र दोषी देखिएकाहरुलाई कारबाही गर्नुपर्ने बताए । ‘पक्राउ परेकाहरु रिहाई हुनुपर्छ । उच्चस्तरीय छानबिन आयोग बनाएर जो जो दोषी देखिन्छ, उनीहरुलाई कारबाही गर्नुपर्छ,’शर्माले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण र भ्रष्टचार रोक्नुपर्छ ।’
प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबार बिहान धरानमा प्रर्दशन गरेको थियो भने राजधानीमा पनि नागरिक अगुवाहरुले सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा प्रहरी हस्तक्षेप गरेर नारायण वाग्लेसहित २६ जनालाई पक्राउ गरेको थियो । *यसअघि समाचारमा नागरिक अभियन्ता भनिएकोमा सच्याएर नागरिक अगुवा भनिएको छ । सम्पादक