धरान: स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद केन्द्रमा विवाद बढेर पार्टी विभाजन गर्ने तहसम्मको चर्चा भइरहदा धरानमा भने दुवै पक्षका नेता, कार्यकर्ताहरु एक ठाउँमा उभिएका हुन् । उनीहरुले शुक्रबार बिहान तारा सुब्बाको तेस्रो स्मृति दिवस धरान १९ स्थित हरियाली सामुदायिन वन हातामा सँगै मनाएका छन् ।

माधन नेपाल पक्षीय नेता रमेश बस्नेतले धरानबाट नेकपा एमाले एकजुट भएको सन्देश दिएको बताए । उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै एमाले, सुर्य चिह्न र कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउने एकमात्र लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए । 'आज हामी कुनै गुट, उपगुट नभनिकन एकै मञ्चमा उभिएका छौं, पार्टी एकढिक्का भएर अघि बढाउनुपर्छ,'उनले भने। 

tara subba1

केपी ओली पक्षका नेता विजयकुमार राईले पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएपनि विभाजन गर्न नहुने धारणा राखे । उनले पनि धरानबाट पार्टी एकताको सन्देश निद सफल भएको बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीले तारा सुब्बाको स्मरण गर्दै धरानको स्मार्ट बसपार्क योजना अघि बढेको जानकारी गराएकी थिइन् । स्थानीय नेता नारायण सुवेदीले पार्टी एक हुनुको विकल्प नभएको भन्दै नेताहरुलाई पार्टी एकढिक्का बनाए लैजान आग्रह गरे ।

नेतृ सविता राईले सबैको अस्तित्व स्वीकार गर्दै पार्टी र संगठनलाई अघि बढाउन नेताहरुलाई आग्रह गरेका थिए । स्मृति दिवस मनाउन एकजुट भएका दुवै समुहका नेता, कार्यकर्ताहरुले हरियाली वन समुहको हाताभित्र निर्माण गरिएको स्वर्गीय मेयर सुब्बाको प्रतिमामा माल्यार्पण पनि गरेका थिए ।