धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । 

कार्यदलले सोमबार नै आफ्नो प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीसँग भेट गर्ने समय मंगलबार पाएको कार्यदलले जनाएको छ । कार्यदलका प्रवक्ता एवं सहसचिव शंकर नेपालले मंगलबार कुलपति एवं प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । उनले प्रतिवेदनबारे आफुहरुलाई बोल्ने अधिकार नभएको भन्दै थप केही बताउन चाहेनन् । उनले भने, मंगलबार प्रधानमन्त्रीको समय लिएका छौं, उहाँलाई बुझाएपछि के हुन्छ, भन्न सक्दैनौं । त्यसबारे हामीलाई बोल्ने अधिकार छैन ।

कार्यदलका एक सदस्य एवं सरकारका उच्च अधिकारीले क्लिकधरानसँग कुरा गर्दै प्रतिवेदनले सबै बिषयहरुलाई समेटिएको बताए । उनले आफ्नो बुझाईमा प्रतिवेदन कडा भएको र सबै पदाधिकारीहरु आत्तिएको पाएको पनि बताए । ‘सबै इस्युहरुलाई छुने गरि प्रतिवेदन छ । हाम्रो बुझाईमा कडा छ, लेख्न सक्ने गरि लेखिएको छ । सबै जना आत्तिएका छन्,’ती अधिकारीले भने,‘सिनेट बोलाएर केही गर्छन् भन्ने आशा छ ।’ 

प्रतिवेदन विगतमा जस्तो थन्काउन नहुने भन्दै उनले सार्वजनिक गर्नु पनि भनिएको बताए । वीपी प्रतिष्ठान पुरै बिग्रिसकेको नभै बिग्रन थालेको अवस्थामा भएकोले सपार्न सबै लाग्नुपर्ने पनि उनले बताए । ‘बिग्रिसकेको छैन, बिग्रन थालेको छ, राम्रो होस् भन्ने हाम्रो उद्देश्य हो,’उनले भने,‘रिपोर्ट सार्वजनिक गर्नु भनेका छौं ।’