धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । 

आन्दोलनरत संयुक्त संघर्ष समितिले वार्ता समिति गठन नगरे बुधबारदेखि इर्मजेन्सी र कोभिड बाहेकको सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएपछि सरकारले वार्ता समिति गठन गरेको हो । स्वास्थ्य खबरका अनुसार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन्।

संयुक्त संघर्ष समितिले शनिबार धरानमा सिट्ठी जुलुस निकाल्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । समितिले आफुहरुको माग सम्बोधन गर्न वार्ता समिति गठन गर्न ७२ घण्टे अल्टिमेटम दिदै बुधबारदेखि आकस्मिक कक्ष र कोभिडबाहेक सेवाहरु बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठानमा बेथिती र आर्थिक अनियमितता बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिंगहरुले गत असार १ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन्।