धरानः विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित काठमाण्डौं पुगेको धरान उपमहानगरपालिकाको टोलीले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माण र सरोकारको बिषयमा ध्यानाकर्षण गराएको छ ।

मेयर तिलक राईको नेतृत्वमा गएको टोलीले बिहीबार कानुन मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर धरानको विभिन्न बिषयहरुमा ध्यानाकर्षण गराएको हो । टोलीले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती, खानेपानीको समस्या, सेउती र सर्दु करिडोर निर्माण, विद्युत राष्ट्रिय प्रसारण लाईनको धरानमा सवस्टेसन, बसपार्क, सुरुङमार्ग, कोरोना विरुद्धको खोपलगायत बिषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको हो । 

साथै, सोही टोलीले धरानमा भएका पुल, धरान–विष्णुपादुका कालोपत्रे पर्यटकीय पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्न आग्रहको छ भने जोगबनी–किमाथाङ्का सडकको धरान बजार खण्डको मापदण्ड परिमार्जन गरि ८० फिट कायम गर्न पनि मेयर राईले माग गरेको प्रेस संयोजक पारस राईले जानकारी दिए । 

deligations1

न्याय तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी र धरान वडा नं. २० स्थित विद्युत सवस्टेसन बनाउन ध्यान दिने आश्वासन दिए । अर्थमन्त्री जनार्दन शर्माले योजनाहरुको लिखित प्रस्ताव ल्याउन आग्रह गरे । उनले गरिबी अन्त्य गर्न धरानमा रहेका सिमान्तकृत वर्गको तथ्याङ्क सङकलन गरेर ठोस योजना पनि उपमहानगरपालिकासँग माग गरे ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी प्रतिष्ठानका चारै जना पदाधिकारीले राजिनामा नदिए कारबाही गर्ने बताए । अख्तियारको पटक पटकको छानबिन, अन्दोलनको माग, छानबिन समितिको रिपोर्टको अधारमा उनीहरुले राजिनामा दिनुपर्ने मन्त्रीको भनाई थियो । मन्त्रालयमा भएको छलफलमा मेयर तिलक राईले वीपीका बारेमा छानबिन समितिले दिएको प्रतिवेदन चाडो कार्यान्वयन गर्न माग गरे । उनले प्रदेश नं. १ र २ बाट वीपी प्रतिष्ठानमा उपचारका लागि धेरै विरामी आउने भन्दै कोरोना संक्रमितको दर र मृत्युदर धरानमा उच्च भएकोले कोरोना विरुद्धको खोप लगाउन धरानलाई विषेश प्राथमिकतामा राख्न पनि आग्रह गरे । 

deli

डेलिगेशन टोलीमा रहेका माओवादी केन्द्रका नेता चोत्लुङका अनुसार स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई वीपीको समस्या चाडो निकास दिन आग्रह गरिएको बताए । छानबिन प्रतिवेदनलाई कार्यान्वयन गर्न आग्रह गरिएको उनले बताए । ‘स्वास्थ्य मन्त्रीलाई भेटेर वीपीको समस्या चाडो निकास दिनुपर्यो, छानबिनको प्रतिवेदन कार्यान्वयन गर्नुपर्यो भन्यौं,’उनले भने,‘मन्त्रीले अख्तियारले पनि छानबिन काम अघि बढाएको छ, अख्तियारले के कति गर्छ, त्यसलाई आधार बनाएर हामी पनि थप कदम चाल्छौं भन्नु भयो ।’

डेलिगेशन टोलीले नयाँ परिस्थितिमा धरानको विकास निर्माणको कामहरुबारे सम्बन्धित मन्त्रालयहरुको ध्यानकर्षण गराउन राजधानी आएको चोत्लुङको भनाई छ । उनले ६ लेन सडकबारे पनि सरकारले बाइपास गर्न सक्ने कि नसक्ने भनेर राय लिन आएको बताए । ‘६ लेन सडकलाई बजारबाटै लैजाने कि बाइपास गर्ने हो ? सरकारले वाइपस गर्न सक्छ कि सक्दैन भनेर राय लिन पनि आएका हौं,’उनले भने,‘यो बिषयमा प्रधानमन्त्रीसँग र सम्बन्धित मन्त्रालयमा कुरा गछौं ।’

टोलीमा मेयर राईसँगै संघीय सांसद जयकुमार राई, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, एमाले जिल्ला अध्यक्ष रमेश बस्नेत, एमाले धरान अध्यक्ष नारायणी सुवेदी, जसपा धरान अध्यक्ष ताजुब लिम्बु, माओवादी केन्द्रका नेता चोत्लुङ, मुक्साहाङ मेन्न्याङ्बोलगायत थिए ।