धरान: धरानको सरोकार एवं विकास निर्माणको एजेण्डा बोकेर राजधानी गएको जनप्रतिनिधि एवं राजनीतिक दलहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् ।
आज शनिबार भएको भेटमा प्रतिनिधि मण्डलले धरानको विकास निर्माणमा ध्यान दिन आग्रह गरेको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञानलाई सुधार गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ । मेयर तिलक राई र एमाले नेता रमेश बस्नेतले प्रधानमन्त्री देउवालाई वीपी प्रतिष्ठानको बेथितीसँगै धरानको विकास, निर्माणको बारेमा ब्रिफिङ गरेका थिए ।
उनीहरुले उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्नुपर्ने र प्रतिष्ठानलाई सुधार गर्नुपर्ने माग राखेको प्रतिनिधिमण्डलमा सहभागी वरिष्ठ पत्रकार हर्ष सुब्बाले जानकारी दिए ।
पत्रकार सुब्बाका अनुसार प्रधानमन्त्री देउवाले सकरात्मक जवाफ दिएका थिए । साथै, वीपी प्रतिष्ठान स्थापनाको उद्देश्य अनुसार नै अघि बढाउन सरकारले कुनै कसुर बाँकी नछोड्ने प्रधानमन्त्री देउवाले बताएको पनि पत्रकार सुब्बाले जानकारी दिए । उनले भने,‘प्रतिवेदन कार्यान्वयन हुन्छ, र वीपीलाई उद्देश्य अनुसार अघि बढाउन सरकारले कुनै कसुर बाँकी छोड्दैन भन्नु भयो ।’