धरान: विकास निर्माण तथा महत्वपुर्ण सरोकारका बिषयहरु लिएर मेयरको नेतृत्वमा राजधानीमा गएका धरानका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले शुक्रबार एमाले नेता माधवकुमार नेपाल र जसपाका शीर्ष नेताहरुलाई भेटेका छन् ।

धरानको प्रतिनिधि मण्डलले एमाले नेता एवं पुर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष रकम चेम्जोङलाई पनि भेट गरेको हो । सबैसँगको भेटमा धरानको विकासको लागि आवश्यक बजेट विनियोजनमा ध्यान दिन टोलीले आग्रह गरेको थियो भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितीको बिषयमा बिशेष जोडदिदै समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको थियो ।

नेताहरुसँगको भेटमा सहभागी सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राईका अनुसार पुर्वाधार निर्माण, खेलकुद, पर्यटन, बसपार्क, सडकलगायत धरानको समग्र विकासको एजेण्डाहरु लिएर टोलीले मन्त्री र शीर्ष नेताहरुसँग भेट गरिरहेको हो । तर, टोलीले प्रतिष्ठानको बेथिती र उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनको बिषयलाई प्रमुखताका साथ उठाउदै आएको सांसद राईले जानकारी दिए । 

daliya team1

उनले छानबिन प्रतिवेदनले सरकारलाई बुझाई सकेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र दोषी देखाएकाहरुलाई कारबाही गर्न आवश्यक भुमिका निर्वाह गर्न नेताहरुलाई आग्रह गरिएको जानकारी दिए । 'वीपीलाई सरकारले जुन हिसाबले हेर्नुपर्ने हो, त्यसरी हेरेको छैन, र जनताले दुःख पाइराखेका छन् । आगामी बजेटमा बिशेष व्यवस्था हुनुपर्छ भनेका छौं,' सांसद राईले भने, 'अहिलेको आन्दोलनबाट छानबिन कार्यदल बनेर प्रतिवेदन बुझाई सकेको छ, त्यो चाडो कार्यान्वयनमा ल्याउनुपर्छ । दोषीलाई कारबाही होस्, तपाईहरुबाट कसैलाई पनि संरक्षण नहोस्, गलतलाई गलत भन्ने भुमिका खेलिदिनुपर्छं भनेका छौं ।'

नेताहरुले धरानका प्रतिनिधि मण्डलसँग सकरात्मक कुरा गरेको र वीपीको साख जोगाउनुपर्ने धारणा राखेको पनि सांसद राईले जानकारी दिए । 'वीपी देशकै सम्पत्ति हो, जुन अहिले धरासायी हुने अवस्थामा पुगेको छ, यसमा उहाँहरुले चासो रहेको र सुधारको लागि पुर्ण सहयोग रहन्छ भन्नु भएको छ,' सांसद राईले भने, 'स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा विगतदेखि नै भिसि र अन्य पदाधिकारीहरु भ्रष्टचारमा मुछिदै आएका छन्, अहिलेकाहरु पनि मुछिएका छन्, रिपोर्टलाई कार्यान्वयन गर्नुपर्छ ।'  प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गर्ने सांसद राईले बताए ।