धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए ।

कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उनी डिपोट स्कुलमा पढ्थे । कक्षा ४ मा पढ्दै गर्दा बास्केटवलको प्रशिक्षण लिने मौका पाए । धरानका अरु स्कुलहरुले कुनै प्रतियोगिता हुँदा मात्र प्रशिक्षक राखेर तालिम दिन्थ्यो । डिपोटले भने प्रशिक्षक नियुक्ती गरेर निरन्तर तालिम गराउथ्यो । त्यसैले धरानको स्कुलहरुमध्ये पढाईसँगै खेलकुदमा पनि डिपोटको नतिजा अब्बल आउछ । नविनले पनि डिपोट स्कुलमा तालिम लिए, र स्कुल छुट्टी भएपछि घर नजिकैको कोर्टमा अभ्यास गर्न थाले । 

तिनै नविन राई अहिले बास्केटवल खेलका प्रतिभावान खेलाडी छन् । उनी प्रदेश नं १ को बास्केटवल टिमको क्याप्टेन हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौं सँस्करणदेखि उनी निरन्तर पुर्वाञ्चल (हाल प्रदेश १) को टिमबाट खेलिरहेका छन् । गएको आठौं सँस्करणमा उनको कप्तानीमा प्रदेश नं १ को टिमले राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । डिपोट स्कुलले दिएको अवसर र प्रशिक्षक विकास चाम्लिङ राईको प्रशिक्षण आफ्नो खेल जीवनमा महत्वपुर्ण रहेको नविन बताउँछन् । 

nabin

डिपोट स्कुलले यु १७ राष्ट्रिय बास्केटवल च्याम्पियनसिपको उपाधि काठमाण्डौंमा जित्दा उनी पनि महत्वपुर्ण खेलाडी थिए । बास्केटवलमा राजधानीका स्कुल तथा कलेजहरुको दबदबा भइरहदा मोफसलबाट सहभागी डिपोटले जित्नु चानचुने कुरा थिएन । यु १९ राष्ट्रिय प्रतियोगितामा भने फाइनलमा पराजित भएको थियो । त्यसबेला पनि नविन खेलाडीकोरुपमा टिममा थिए । उनले राजधानीमा हुने प्राइम कप, मोर्गन कपलगायतका खुल्ला प्रतियोगिताहरु सबैमा धरानको प्रतिनिधित्व गर्दै खेलेका छन् । ‘नेशनल गेम हुँदा उपत्यका बाहिरबाट सधै धरानको टिम बोलाउथ्यो, धरानबाट हामी जान्थ्यौं,’उनी स्मरण गर्दै भन्छन् । पुर्वका भएका प्रतियोगिताहरुमा उनी सहभागी टिमले जित्दै आएको छ ।

पछिल्लो समय उनी आफै पनि प्रशिक्षक थिए । धरानको समिट स्कुल र होलिल्याण्डमा विद्यार्थीहरुलाई बास्केटवल सिकाउथे । सगरमाथा, एम्स, मेघा कलेजमा पनि प्रशिक्षण गरे । स्टाइलिस खेल हो बास्केटवल । यसको जर्सी, जुत्ता, वल र खेल्ने शैलीले पनि युवादेखि बच्चासम्म आकर्षित हुन्छन् । यही कारण विद्यार्थीहरुलाई आकर्षित गर्न धरानका स्कुलहरुमा बास्केटवल कोर्ट बनेका छन् । विश्वव्यापी कोरोना भाइरस संक्रमण फैलिए पछि नेपालमा पनि लकडाउन भयो । स्कुलहरु पनि बन्द भए । उनले दिदै आएको प्रशिक्षण पनि रोकियो । 

बास्केटवल क्याप्टेनको फेरिएको दैनिकी  

nabin1

समय भ्याएसम्म बिहान, दिउँसो र साँझ बास्केटवल कोर्टमा भेटिने नविनको दैनिक अचेल पहिलाको जस्तो छैन । नियमित अभ्यास गर्नुपर्ने उनको दैनिकी फेरिएको छ । अहिले उनको दैनिकी बास्केटवल कोर्टमा थोरै, र अफिसमा धेरै बित्ने गरेको छ ।

गत बर्षको लकडाउनदेखि साथीहरुसँग मिलेर उनले सप अर्डर नामको अनलाइन होम डेलिभरी व्यापार शुरु गरेका छन् । उनी सप अर्डरको चिफ अपरेटिङ अफिसर छन् । अचेल उनी खाद्यान्नको बिक्री के कति भयो भनेर हिसाब हेर्छन् । रेष्टुरेष्टमा गएर खाजाहरु के कतिमा डेलिभरी गर्न सकिन्छ भनेर डिल गर्छन् । ग्राहकहरुले वेभसाइट, फेसबुक, भाइवर वा फोनमार्फत अर्डर दिएका हरियो तरकारी, खाद्यान्न, खाजा, स्पोर्टस् आइटम, कपडा, इलेक्ट्रिक सामानहरु घर घरमा पुर्याउने व्यवस्थापन गर्छन् । 

‘स्पोटर््स मेरो बच्चादेखिको पहिचान बनेको छ, बिजनेसमा केयरलेस गर्न पनि भएन । समय म्यानेज गर्न गाह्रो भइरहेको छ,’उनले अनुभव साटे, ‘लकडाउनमा होम डेलिभरी सेवा सञ्चालन गर्न पाउदा राम्रो चलेको थियो, खुलेपछि केही कम भयो, तर बिजनेस विस्तारै बढ्दैछ ।’ अचेल प्रतियोगिताहरु हुदैन । फिट रहनको लागि उनी थोरै भएपनि कि बिहानै कि साँझ अभ्यास गर्न भने छुटाउदैनन् । ‘गेम खेल्न पाइरहेको छैन । बेलुका साथीभाई भेटिन्छ । समय निकालेर रनिङ, वल ह्याण्डलिङ, सुटिङ गर्छु,’ उनी भन्छन् ।

व्यापार शुरु भएपछि उनले बुझ्न थाले, सामान बिक्री गराउनु छ भने सोसियल हुनुपर्ने रहेछ । सामानहरु युनिक र राम्रो त हुनु नै पर्छ, त्यतिले मात्र नभएर सबैजनासँग चिनजान र भेटघाटले पनि व्यापार बढ्ने रहेछ । 

त्यसो त उनले व्यापार शुरु गरेको सप अर्डर पहिलो पटक होइन । एस.एल.सी.पछि नै करिब ८ बर्षअघि व्यापार गरौं भन्ने भएर बाँस संकलन गरेर बेच्न थालेका थिए । घर छेऊमा बि.बि.क्यु.गरेर ड्रिङ्स पनि बेचेका थिए । धरान अनलाइन स्पोटर््स कलेक्सन खोलेर जुत्ता, बल, सक्स, नि गार्डलगायत विदेशबाट मगाएर बिक्री पनि गरे । ‘धरानमा खेल्दा सामान्य जुत्ता, जर्सी पनि महंगोमा किन्नु पथ्र्यो, त्यही पैसामा थोरै थप्दा ब्राण्डेड सामान पाउन सकिन्छ । मुल्य केही बढी भएपनि राम्रो र टिकाउ सामान पाइन्थ्यो,’उनले भने,‘लकडाउनले गर्दा विदेशबाट आयात हुन पाएन ।’

'विदेशमा भए व्यापारमा जानु पर्दैनथ्यो'

nabin vai-basket

बच्चादेखि नै बास्केटवल खेलमा लागेका नविन युवा उमेरमा फरक क्षेत्र व्यापारमा हात हालेका छन् । तर उनको मन, मस्तिष्कमा भने बास्केटवल नै छ । जीवन निर्वाहको लागि व्यापारमा लाग्नुपर्ने बाध्यता । उनी भन्छन्,‘विदेशमा भए व्यापारमा जानुपर्दैनथ्यो, स्पोर्टस्बाटै राम्रो हुन्थ्यो ।’

सानै उमेरदेखि खेलकुदमा लागेका नविनलाई अझै पनि डर छ, स्पोर्ट्सबाट भविष्य सुरक्षित छैन । परिवार भएपछि त झन् गाह्रो हुन्छ । ‘बच्चादेखि नै केही सोचेनौं, निरन्तर खेल्यौं, पढ्थ्यौं, ट्रेनिङ गथ्यौं, र खेल्थ्यौं,’उनले भने,‘अहिले बुझ्दा नेपालमा त गाह्रो हुदो रहेछ । कम्तीमा राज्यले खेलकुद र खेलाडीहरुको भविष्य सुरक्षित बनाउनुपर्छ ।’