धरान: प्रदेश नं १ मा सरकार मुख्यमन्त्री फेरेर भएपनि नेकपा एमालेको सरकार जोगाउने कसरत शुरु भएको छ । 

मुख्यमन्त्रीबाट शेरधन राईले राजिनामा दिने र साँझसम्म भीम आचार्य मुख्यमन्त्री बन्ने चर्चा छ । एमालेले आजै बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर्ने र मुख्मयन्त्री बनाउने एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।  एमालेबाट अलग्गिएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएलगत्तै प्रदेश १ मा एमाले सरकार जोगाउन यो कसरत भएको हो । यसअघि बागमती प्रदेशमा पनि डोरमणी पौडेलले राजिनामा दिएर माधव नेपाल खेमाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो । 

प्रदेश १ को मुख्यमन्त्री बन्न आचार्य यसअघि पटि २ पटक प्रयास गरेको थिए । पहिलो पटक प्रदेश निर्वाचन पछि संसदीय दलको नेता चयन गर्न भएको मतदानमा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री बन्न असफल भए । दोस्रो पटक तत्कालिन नेकपामा तीब्र विवाद हुँदा उनलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर, पछि अदालतबाट नेकपा वदर भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पछि एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएपछि दोस्रो प्रयासमा पनि उनी मुख्यमन्त्री बन्न पाएका थिएनन् । विगतमा माधव नेपाल र झलनाथ खनाल समुहमा रहेका नेता आचार्य अहिले एमाले पार्टी विभाजन हुँदा भने एमालेमै रहेका छन् । त्यसैले आचार्यलाई नै मुख्यमन्त्री बनाएर प्रदेशमा एमाले नेतृत्वको सरकार टिकाउने प्रयास भएको हो । 

नयाँ पार्टीमा जानबाट सांसद रोक्ने चुनौती

प्रदेश नं १ मा ९२ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बुहमत ५१ जना सांसद छन् । ती मध्ये एक जना एमाले सांसद किर्ते कागज मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार छन् । यस्तै, कांग्रेसको २१, माओवादी केन्द्रको १५, जनता समाजवादी पार्टीका े३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना सांसद छन् ।

सांसदमा एमालेको बहुमत भएपनि अब पार्टी विभाजनको असर देखिनसक्ने भएकोले आवश्यक बहुमत ४६ जना सांसद जोगाउनु एमालेको लागि मुख्य चुनौती हो । दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि नयाँ दल दर्ता भएको २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेपछि प्रदेशमा पनि दल विभाजनको असर पर्नेछ ।

प्रदेश सांसदहरुले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजे पनि सांसद पद गुमाउनु पर्ने छैन । त्यसैले कतिपय सांसदहरु नयाँ पार्टीमा जानसक्छन्, र एमालेको बहुमत गुम्न सक्छ । एकीकृत समाजवादीमा ६ जना मात्र सांसदहरु खुलेर गएमा एमालेको बहुमत गुम्नेछ, र गठबन्धनको सरकार बन्छ । एकीकृत समाजवादीमा ८ जनाको संख्यामा सांसदहरु खुलेका छन् भने त्यतिकै संख्यामा तटस्थ सांसदहरु पनि छन् । मुख्यमन्त्री राई र नेता आचार्य दुवै पक्ष ति सांसदहरुलाई एमालेमै राख्न पहल गरिरहेका छन् ।