धरान: २०७५ जेठ २ अघिकै कमिटी ब्युउँताउनेलगायत १० बुँदे सहमति पालना गर्ने निर्णय गरेको नेकपा एमालेको सुनसरी जिल्ला कमिटी कुन आधिकारिक हो ? यो विवाद र अन्योल कायमै छ । 

तत्कालिन एमाले जिल्ला कमिटी अध्यक्ष(नेकपा हुँदा सचिव) रमेश बस्नेत माधव नेपाल पक्षमा लागेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले रेवतीरमण भण्डारीको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको थियो । पछिल्लो पटक माधव नेपाल पक्षका नेताहरुसमेतको एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न २०७५ जेठ २ अघिकै कमिटीहरु ब्युँउताउन निर्देशन दिएको थियो भने विवाद देखिएको जिल्लाको हकमा समस्या हल गर्न कार्यदल पनि गठन भएको छ । १० बुँदे सहमति अनुसार अब जिल्ला कमिटी कसरी अघि बढ्छ भन्ने अन्योलकै बीचमा शुक्रबार भण्डारी अध्यक्ष रहेको कमिटीको सचिवालय बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकले आगामी कार्तिकमा हुने पालिका तथा वडास्तरीय अधिवेशनहरु सम्पन्न गर्न अधिवक्ता शिवराज चौहान संयोजक रहेको १५ सदस्यीय जिल्ला निर्वाचन आयोग गठन गर्ने निर्णय गरेको छ ।

बैठक पछि पार्टीका सचिव पर्शुराम यादवले जारी गरेको प्रेस विज्ञप्तीमा यही भदौ १५ गतेभित्र पार्टी सदस्यता नविकरण गरेर भदौ १६ गतेसम्म जिल्ला पार्टी कार्यालयमा पठाईसक्ने निर्णय भएको उल्लेख छ । यस्तै, भदौ २५ गतेसम्म वडास्तरीय कमिटी गठन गरि उक्त कमिटीहरुको बैठक बसेर आगामी वडा अधिवेशनको आवश्यक तयारी प्रारम्भ गर्ने, भदौ मसान्तसम्म पार्टी परिचय पत्र वितरण अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरि, स्थानीय तहका पालिकास्तरका कमिटीहरुले मजदुर व्यवसाय र बुद्धिजिवि(क) र (ख)समेत गरि बिशेष शाखा कमिटी गठन गरि सञ्चालन गर्न सक्ने पनि बैठकले निर्णय गरेको छ । सोही बैठकले प्रदेश नं १ को मुख्यमन्त्रीमा स्थायी कमिटी सदस्य भीम आचार्य नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ भने निवर्तमान मुख्यमन्त्री शेरधन राईले करिब ४२ महिना मुख्यमन्त्रीकोरुपमा सफलतापुर्वक प्रदेश सरकारको नेतृत्व गरेकोमा राई र मन्त्रीपरिषद सदस्यहरुलाई धन्यावद ज्ञापन गर्ने पनि निर्णय गरेको सचिव यादवद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

uml-inaruwa