धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा बहिष्कारविरुद्ध सोमबार प्रर्दशन र उपकुलपतिको कार्यकक्षमा लगाएको ताला तोड्ने राजनीतिक दलहरुलाई आन्दोलनरत पक्षले मासु भात खुवाउने प्रस्ताव गरेका छन् ।
सोमबार दिउँसो नेकपा एमालेको संस्थापन पक्षको कमिटीसहित राप्रपा, राप्रपा नेपाल र संघीय लिम्बुवान मञ्चले विरोध प्रर्दशनसँगै उपकुलपति कार्यालयमा लगाएको ताला तोडेको प्रतिक्रिया स्वरुप आन्दोलनरत पक्षले यस्तो प्रस्ताव गरेको हो । अस्पताल हाताभित्र राजनीतिक दलहरुले प्रर्दशन, तोडफोड गरेपछि संघर्ष समितिले आकस्मिकरुपमा कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै विद्यार्थी प्रशान्त राईले तोडफोड गर्नेहरुलाई मासुभात खुवाउने प्रस्ताव गरेका हुन् । त्यसवापत आन्दोलनको पक्षमा उभिनुपर्ने पनि उनले बताए । ‘ती सबै राजनीतिक दलका नेतृत्व जो आज यहाँ आएर तोडफोड गर्नुभयो, त्यतातिर मासुभातले पुगेन भने आउनुस् हामी खुवाउछौं,’राईले भने,‘भोली हामीसँग उभिनुस् तपाईहरु, त्यो भन्दा मिठो मासुभात हामी खुवाउछौं ।’
भिडियो:
उनले आन्दोलनको दौरान धेरै व्यक्तिहरुको असली अनुहारको अभिलेख राखेको पनि बताए । असार १५ गते मदिरा पिएर आपैmलाई चिन्न नसक्ने अवस्थामा भिसि वार्तामा आएको र त्यो मर्यादित कार्यलाई जायज हो भनेर उपमेयरलगायत जनप्रतिनिधिहरुले प्रतिक्रिया दिएकोमा पनि उनले असन्तुष्टी जनाए । ‘हाम्रो प्रतिष्ठानमा बषौंदेखि भएको बेथिती र अनियमितताविरुद्ध हामी यहाँ उभिरहेका छौं । प्रतिष्ठानका अन्याय परेका कर्मचारी, फ्याकल्टी र विरामीहरु जो यहाँ उपकरण अभावको कारण ज्यान गुमाउन बाध्य भएकाहरुको लागि आन्दोलन गरेका हौं,’उनले भने,‘प्रतिष्ठान, राजनीतिक संस्थाहरु, सामाजिक संस्थाहरु वलियो भए मात्र राष्ट्र वलियो हुन्छ भन्ने आन्दोलन हो । हाम्रो मात्र होइन, विकट ठाउँबाट आएकाहरुलाई राम्रो उपचार हुनुपर्छ भन्ने आन्दोलन हो ।’
‘प्रधानमन्त्री ज्यू, ताला लगाइदिनुस्’
संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले वीपी प्रतिष्ठान सुधारको विपक्षमा रहेकाहरुले ताला तोडेर फेरि अर्को गल्ती गरेको प्रतिक्रिया दिएका छन् । आन्दोलनकारी पक्ष र प्रशासनबीच सहमति भएमा वा आन्दोलन गलत ठहर गर्दै पदाधिकारीहरुले प्रशासनको रोहबरमा मात्र तालाबन्दी तोड्न सक्ने उनले बताए । ‘त्योबाहेक कुनै पनि व्यक्तिले यो ताला तोड्छ भने गैरकानुनी हो, अपराध हो,’उनले भने,‘ यसको छिनोफानो राज्यले गर्नुपर्छ, राज्यले संरक्षण गर्न सक्दैन भने, प्रम ज्यू वीपीमा ताला लगाइदिनुस् ।’
डा. पोखरेलले वीपीको सुरक्षा गर्न नसक्ने सरकारले देशको सुरक्षा कसरी गर्न सक्छ ? भन्दै प्रश्नसमेत गरे । उनले कसैले दम लगाएर, रोटी दिएर आन्दोलन ८४ औं दिनसम्म पुगेको नभै निष्ठा, सत्यता र दायित्व बोधले आएको बताए । ‘लाठीले हातखुट्टा भाचेपनि आदर्श भाँच्न सक्दैनौं । वीपीको आन्दोलन रोक्न खोज्यौ भने दलहरुको राजनीति खतम हुन्छ,’उनले भने ।
सोही सभालाई सम्बोधन गदै प्रा.डा.नरेन्द्र भट्टले वीपीका पदाधिकारीहरुमा एकेडेमिक संस्थानलाई हाँक्न सक्ने प्रशासनिक क्षमता नभएको अहिलेको अवस्था सृर्जना भएको बताए । यस्तै, प्रा.डा. पारस पोखरेलले पञ्चायतमा मण्डलेकोरुपमा जस्तै अहिले पनि विभिन्न रुपमा धमिलो पानीमा माछा मार्न खोज्नेहरु आन्दोलन तुहाउन सक्रिय रहेको भन्दै विचलित नहुन आग्रह गरे ।