धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ ।
प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेको संस्थापन पक्ष मात्र आन्दोलनकारीको विपक्षमा थियो । एमाले अध्यक्ष केपी ओली पक्षको कमिटी उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पक्षमा रहदै आएको छ । उक्त कमिटीबाहेक अन्य राजनीतिक दलहरुले भने सुद्धिकरण आन्दोलनको पुर्ण समर्थनमा थियो । तर, पछिल्लो समय आन्दोलन लम्बिदै जादा केही अन्य राजनीतिक दलहरु पनि असन्तुष्ट भएको थियो ।
संघर्ष समितिले हिजो आइतबारदेखि आकस्मिक र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गर्ने घोषणा गरेपछि राजनीतिक दलहरु थप असन्तुष्ट थिए । उनीहरुले सेवा बहिष्कारको आन्दोलन फिर्ता लिन आग्रहसमेत गरेका थिए । तर आन्दोलनरत संघर्ष समितिले सरकारले उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वास्थ्य मन्त्रालयले ६ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सेवा बहिष्कार गरेका छन् । त्यसविरुद्ध आज सोमबार एमालेको संस्थापन पक्षको कमिटीसँगै राप्रपा, राप्रपा नेपाल र संघीय लिम्बुवान मञ्चले प्रर्दशन गरेको थियो । यी दलका नेता, कार्यकर्ताहरुले उपकुलपति कार्यालयमा संघर्ष समितिले लगाएको ताला तोड्ने क्रममा शिशासमेत फुटाइदिएको छ । यो घटनाले राजनीतिक दल र संघर्ष समितिबीच थप तिक्तता बढाएको छ ।