धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यालयमा सोमबार तोडफोडको घटनाप्रति धरान उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मेयर तिलक राईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरि भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका हुन् । मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्रायलाई स्मरण गर्दै क्रिया प्रतिक्रियाहरुले अझ समस्यालाई असमञ्ज्यसतामा डोर्याउनेतर्फ सचेत गराउदै सरोकारवाला पक्षहरुलाई संयमता अपनाउन पनि अनुरोध गरेका छन् ।
यसैगरि, मेयर राईले वी.पी प्रतिष्ठान धरानको मात्र नभएर भारतको विहार, प्रदेश १ र प्रदेश २ का जनताको स्वास्थ्य समस्या समाधान गर्ने आधार स्तम्भ भएकोले सबै सेवाहरु सुचारु गर्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । संयमित आन्दोलनको लागि उपमहानगरपालिका सदैव साथ रहने पनि मेयर राईले प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिष्ठानको वेथिति, विसंगतिको विषयलाई लिएर केही समय अघि उपमहानगरपालिकाको नेतृत्वमा धरानका राजनीतिक दल, नागरिक दबाब सञ्जालसहितको प्रतिनिधि टोली काठमाण्डौं गएको पनि मेयर राईले विज्ञप्तीमा उल्लेख गर्दै सम्बन्धित मन्त्रालयमा दबाब समेत दिएको जनाएका छन् । उपमहानगरपालिकाको अगुवाईमा राजनीतिक दल र वीपी सुद्धिकरण संघर्ष समितिसँग समस्या समाधान गर्न विभिन्न चरणमा छलफलसमेत भइरहेको उनले खुलाएका छन् ।