धरान: राजनीतिक दलको नाममा हिजो मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको कार्यालयमा तोडफोड गर्नेहरुलाई कारबाही गर्न संयुक्त संघर्ष समितिले माग गरेको छ ।

समितिले आज एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेको छ भने घटनाका दोषीलाई प्रचलित कानुन वमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रालयसँग माग गरेको छ । ‘यदि राजनीतिक दलको नामम भएका यस्ता अपराधिक क्रियाकलाप गर्ने समुहलाई सरकारले तत्काल कारबाही प्रक्रिया अघि नबढाए हामी अझै कठोर कदम चाल्न बाध्य हुने पनि अवगत गराउदछौं,’विज्ञप्तीमा भनिएको छ ।

जनताको प्रत्यक्ष उपचार र पठनपाठनका क्रियाकलापमा असर गर्ने गरि चरम अनियमितता भएको र प्रतिष्ठान दुर्घटना उन्मुख भइरहदा पनि जनताको नाम लिएर अस्पतालमा तोडफोड गरिनु कुनै पनि राजनीतिक दलको क्रियाकलाप हुन नसक्ने संघर्ष समितिले ठहर गरेको जनाएको छ । इर्मजेन्सीबाहेकको सेवाको लागि केही दिन धैर्य गर्न सर्वसाधारणहरुलाई आग्रह गर्दै समितिले इर्मजेन्सी परेको खण्डमा २४ सै घण्टा अप्रेशन सेवासहित उपचारमा उपस्थित रहने प्रष्ट पारेको छ । समितिले इर्मजेन्सी अप्रेसशनसहितको सम्पुर्ण इर्मजेन्सी सेवा, कोभिडमा हुने उपचार सेवा, वार्डलगायतमा भने निरन्तर सेवा दिइरहेको पनि जनाएको छ ।  

समितिले पटक पटक सम्झौता गर्ने तर कार्यान्वयनमा उदाशिन रहनुले सरकार अनियमिततामा मुछिएका र कारबाहीको सिफारिशमा परेकाहरुको बचाउमा रहेको आशंका पनि जनाएको छ। साथै, मृत्यु शैयामा पुगेको प्रतिष्ठानमा बचाउन निरन्तर सरकारलाई खबरदारी गर्न र सुद्धिकरण अभियानलाई सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।

प्रतिष्ठानको आन्दोलनरत पक्षले आइतबारदेखि इर्मजेन्सी र कोभिडबाहेकको सेवा बहिष्कार गरेको विरोधमा सोमबार दिउँसो नेकपा एमालेको संस्थापन पक्षको धरान उपमहानगर कमिटी, संघीय लिम्बुवान मञ्च, राप्रपा र राप्रपा नेपालले प्रर्दशन गरेको थियो । सोही क्रममा प्रहरीको घेरासमेत तोडेर प्रतिष्ठानभित्र प्रवेश गरि ती दलका नेता, कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा लगाएको ताला फोडेको थियो भने ढोकाको शिशाहरुसमेत फुटाइदिएका थिए । bp-todfod1bp-todfod2