धरान: नेपाली कांग्रेस, धरान उपमहानगर समितिको सभापति पदका उम्मेदवार घोषणा गरेका श्याम पोखरेललाई वडामै रोक्ने प्रयास असफल भएको छ ।
एक दिन ढिला गरि मंगलबार सम्पन्न भएको धरान वडा नं १२ को अधिवेशनअन्तर्गत चुनावमा पोखरेल बहुमतका साथ क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । उनी खस आर्य कोटाबाट क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । उनलाई प्रतिनिधि चुनिनबाट रोक्न विगतमा भएको सहमति विपरीत मोहन बस्नेतले पनि सोही कोटामा उम्मेदवारी दिएका थिए । जसको कारणले विवाद भएर सोमबार नै सम्पन्न हुनुपर्ने अधिवेशन बुधबार चुनावी प्रक्रियाबाट भएको थियो ।
अरु १९ वटै वडाको अधिवेशन सोमबार नै सम्पन्न भएको कारण मंगलबार वडा १२ को मतदानलाई धरानका कांग्रेस नेता, कार्यकर्ताहरुले निक्कै चासोका साथ हेरेका थिए । यो वडा कांग्रेस सभापतिका उम्मेदवारद्धय पोखरेल र किसोर राईको वडा हो । अहिलेसम्म दुवै जना मात्र सभापतिका उम्मेदवार देखिएका छन् । अन्यले पनि विगतमा उम्मेदवारी दिने चर्चा चलाएका थिए, तर उनीहरु उम्मेदवारी नदिने भएकाले पोखरेल र राईबीच मात्र प्रतिस्पर्धा हुने अनुमान छ । राईले नै आफ्नो प्रतिद्धन्दी पोखरेललाई वडामा नै क्षेत्रीय प्रतिनिधिमा हराएर आफुलाई सहज बनाउन प्रयास गरेका थिए । राई पार्टी सभापति देउवा निकट हुन् । पोखरेल भने नेता डा।शेखर कोइराला निकट मानिन्छन् ।
मतदानमा पोखरेलले ३६ मतान्तरले प्रतिद्धन्दी उम्मेदवार मोहन बस्नेतलाई हराए । पोखरेलले १३७ मत पाए भने बस्नेतले १०१ मत मात्र पाए । २ मत वदर भएको थियो । यस्तै, खुलातर्फबाट १० जना क्षेत्रीय प्रतिनिधिहरु पनि मतदान प्रक्रियाबाट छानिएका छन् । आफुलाई वडामै रोक्ने प्रयास गरेपनि कांग्रेसका मतदाता, क्रियाशिल सदस्यहरुले असफल बनाएको पोखरेलले बताए ।'मलाई वडामा रोक्ने भरपुर प्रयास गरेको हो । उहाँलाई नगरमा सजिलो हुन्छ भन्ने भयो होला । त्यसैले सर्वसम्मत सहमति भइसकेकोमा पनि पछि एकाएक अर्को मान्छे उठाए, क्षेत्रीय प्रतिनिधि चयनको सामान्य कुरालाई ठुलो चुनाव भएजस्तो बनाइयो,'पोखरेलले क्लिक धरानसँग प्रतिक्रिया दिए,'तर मलाई आम कार्यकर्ता, मतादाताले मेरो क्रियशिलता, पार्टी गरेको लगानी र इमान्दारिता देखेर मत दिई निवार्चित गर्नुभयो । म उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छुँ ।'
पुर्वसभापति राई गएको प्रदेशसभा निर्वाचनमा उम्मेदवार भइसकेको कारण स्वतः क्षेत्रीय प्रतिनिधि हुन् । पोखरेल भने चुनावी वा सहमतिबाटै क्षेत्रीय प्रतिनिधि चुनिनु पर्ने थियो । त्यसैले राईले आफ्ना प्रतिद्धन्दी पोखरेललाई वडा अधिवेशनबाटै प्रतिनिधि हुनबाट रोक्न खोजेका थिए, तर उनी असफल भए । अधिवेशन अघि सर्वसम्मतिबाट पोखरेललाई प्रतिनिधि छनौट गर्ने सहमति थियो । त्यसविपरीत सोमबार उक्त कोटामा अर्का उम्मेदवार मोहन बस्नेतलाई पनि मनोनयन दर्ता गराउन लगाएपछि विवाद शुरु भएको थियो । सोही कारण चुनाव एकदिन पछि मंगलबार सरेको थियो । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



