धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरीको धरानमा हिजो सोमबार भएको वडा अधिवेशनमा एउटा बाहेक अन्य सबै वडाहरुमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको छ ।

धरानको वडा नं १२ मा भने क्षेत्रीय प्रतिनिधितर्फ खुला र खसआर्य कोटामा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुदैछ । कार्यसमितिमा सहमति भइसके पनि निर्वाचन समितिले आज क्षेत्रीय प्रतिनिधिको चुनावी प्रक्रियाबाट चयन भएपछि मात्र घोषणा गर्नेछ । अन्य १९ वटा वडाहरुमा भने नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको कांग्रेस धरानका सचिव एवं सभापति पदका उम्मेदवार श्याम पोखरेलले जानकारी दिए । 

वडा नम्बर १२ कांग्रेसको धरान उपमहानगर सभापतिका २ जना उम्मेदवारको वडा पनि भएकोले रस्साकस्सी परेको हो । सभापति पदमा उठ्ने घोषणा गरेका नेताद्धय श्याम पोखरेल र किसोर राईको वडा यही पर्छ । विगतमा खस आर्य कोटमा क्षेत्रीय प्रतिनिधिमा पोखरेललाई सर्वसम्मत बनाउने सहमति विपरीत हिजो मोहन बस्नेतको पनि मनोनयन भएपछि विवाद शुरु भएको थियो । सोही विवाद सुल्झन नसकेपछि आज चुनाव हुन लागेको हो । पोखरेललाई प्रतिनिधि बन्नबाट रोक्न बस्नेतलाई पनि अघि सारिएको बताइएको छ ।

congress1 2

वडा अधिवेशन सकिएका १९ वटा वडाहरुमध्ये वडा नं ११, ८, १७, १४ र २० मा भने चुनावी प्रक्रियाबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिको चयन भएको थियो । कांग्रेस जिल्ला सचिव सुजेन्द्र गोले तामाङका अनुसार वडा नं ८ मा प्रतिनिधि, वडा नं १४ मा कार्यसमिति र प्रतिनिधि, वडा नं २० र १७ मा कार्यसमिति र प्रतिनिधिकै चुनाव भएको थियो भने वडा नम्बर ११ मा सभापतिको मात्र चुनाव भएको थियो । 

कुन वडाका को भए वडा सभापति ?

वडा १:  यज्ञमणी आचार्य,

वडा २:  सुधिरसिंह लिम्बु,

वडा ३:  उमेश श्रेष्ठ,

वडा ४ः  तिलक राई

वडा ५ः  कुमार देवान

वडा ६ः  पदम पौडेल

वडा ७:  सुवर्ण पलिखे

वडा ८:  उत्तम राई

वडा ९ः  रुपेश आचार्य

वडा १०ः  पावेल राई

वडा ११:  लोकेन्द्र सुब्बा

वडा १२:  सरोज भट्टराई

वडा १३:  डम्बर तामाङ

वडा १४:  श्याम श्रेष्ठ

वडा १५:  डम्बर गुरुङ

वडा १६: किरण आचार्य

वडा १७: सुरज कार्की

वडा १८: टंक गुरुङ

वडा १९: देउमान लिम्बु

वडा २०:  इन्द्र राई