धरान: नेपाली कांग्रेसले १०८ औं वीपी जन्म जयन्ती धरानमा पनि मनाएको छ ।
धरान १३ स्थित वीपी पार्कमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अबसरमा उनको पुर्णकदको सालिकमा माल्यार्पण गरिएको हो । धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, कोग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ लगायत नेताहरुले वीपीको पुर्णकदमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा नेताहरुले १९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी रहेको बताएका थिए । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुका साथै राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेको नेताहरुले बताए । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष विपीले जेल जीवन बिताएको बारेमा नेताहरुले चर्चा गरेका थिए । साथै, नेताहरुले स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित रहेको बताएका थिए ।







