धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं वीपी जयन्ती बिहिबार प्रतिष्ठानका पदाधिकारीहरुले मनाउन पाएनन् ।
प्रतिष्ठान सुद्धिकरणको माग लिएर निरन्तर आन्दोलनरत संयुक्त संघर्ष समितिले अवरोध गरेपछि पदाधिकारीहरुले आज बिहान कार्यक्रम गर्न नपाएका हुन् । प्रतिष्ठान व्यवस्थापन पक्षले प्रहरी एवं सुरक्षाकर्मी परिचालन गरेर कार्यक्रम गर्न खोजेपछि आन्दोलनकारीहरुको ठुलो संख्यामा उपस्थिति भएपछि पछि हटेका हुन् । व्यवस्थापन पक्षले बिहान साढे ७ बजे उपकुलपति कार्यलय परिसरमा झण्डोत्तोलन कार्यक्रम राखेको थियो भने पौने ८ बजे वीपी कोइरालाको सालिकमा माल्र्यापण कार्यक्रम राखेको थियो ।
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी यो कार्यक्रम गर्नकै लागि काठमाण्डौंबाट धरान आएका थिए । तर, आन्दोलनकारीले भने व्यवस्थापन पक्षको उक्त कार्यक्रमलाई बहिष्कार गर्ने र सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको थियो । सोही चेतावनी पछि आज बिहान ठुलो संख्यमा प्रहरी परिचालन गरिएको थियो । आन्दोलनकारीको विरोध पछि पनि व्यवस्थापन पक्षले कार्यक्रम गर्न सकेन । मध्याह्न १२ बजेसम्म पनि व्यवस्थापन पक्षले पुर्वनिर्धारित दुवै कार्यक्रम गर्न सकेको छैन ।
व्यवस्थापन पक्षलाई कार्यक्रम गर्न नदिएको संघर्ष समिति आफैले भने झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । ‘२, ३ वटा गाडीमै प्रहरी आएको थियो । दोहोरो झडप हुन्छ भनेर पनि होला वा व्यवस्थापन पक्षलाई कार्यक्रम गर्न सहज बनाउन होला,’जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.पदम नेपालीले भने,‘१२ बजेसम्म हामीले कार्यक्रम गर्न दिएका छैनौं, अब खाना, खाजा खाने समयमा आएर गरे भने अर्कै कुरा ।’
संघर्ष समितिले प्रतिष्ठानको ऐनको दफा ११ (घ) अनुसार सिनेट फेस नगरि उपकुलपतिलाई कार्यालय प्रवेश गर्न निषेध गरिएको जनाएको छ । साथै, आफ्नै कार्यालय तोडफोड हुँदासमेत एक शब्द नबोलेको र कारबाही गर्न नसकेको संघर्ष समितिको आरोप छ ।