धरान: धरान उपमहानगरपालिका वडा नं १२ निवासी गिरिराज आचार्य कांग्रेस नेता, कार्यकर्ताहरुको लागि सम्मानित नाम हो । किनभने, सुनसरी जिल्लामा नेपाली कांग्रेसको कमिटी गठन हुँदाका उनी संस्थापक सचिव हुन् ।

त्यति मात्र होइन, नेपाल विद्यार्थी संघको संस्थापक जिल्ला सभापति पनि हुन् । कांग्रेस नेता, कार्यकर्ताहरुमाझ मात्र होइन, उनी पत्रकारहरुका पनि सम्मानित व्यक्तित्व हुन् । नेपाल प्रेस युनियनका संस्थापक हुन् भने तत्कालिन नेपाल पत्रकार संघ(हाल महासंघ)का सुनसरीका संस्थापक सभापति हुन् । पुर्व टाइम्स साप्ताहिक उनले प्रकाशन गर्ने पत्रिका हो ।

आचार्य वीपी कोइरालाको आदर्श बोकेका नेता हुन् । उनी वीपीले नेतृत्व गरेको २५० जनाको हार्डकोर समितिका सदस्य थिए । थुप्रै पटक महासमिति सदस्य भएका तिनै आचार्य मंगलबार भने वडा नं १२ को अधिवेशनको क्रममा मतदान हुँदा क्षेत्रीय प्रतिनिधिमा पराजित भए । क्षेत्रीय प्रतिनिधिमा पराजय भएपछि उनी यसपटक पनि महासमिति सदस्य हुने चाहना पुरा भएन । दुई दिनको मौनता तोड्दै आज (बिहिबार) दिउँसो आचार्यले फेसबुकमार्फत आफ्नो गुनासो व्यक्त गरेका छन् ।

आचार्यले वीपी, गणेशमान, गिरिजाले पनि पटक पटक अपमान सहनुपरेको स्मरण गर्दै आफुले पनि धनवलको अगाडि केवल अपमान पाएको प्रतिक्रिया दिएका छन् । उनले वडा १२ मा मतदानको क्रममा चिट बाटेर आफुलाई हराएको उल्लेख गर्दै वीपी कोइरालाले भनेको कुरा कार्यकर्ताहरुले यस्तै अपमान सहनुपर्छ भन्ने भनाई सम्झिएको बताएका छन् । ‘केवल मसँग नैतिक वल थियो, त्यो म निरिह भएको सम्झिएँ,’उनले लेखेका छन् ।

उनी पञ्चायतकालमा पटक पटक जेल परेका छन् । प्रजातन्त्रको लागि लड्दा थुप्रै मुद्दा खेप्नु परेको थियो । उनी १९ दिन भारत निर्वासनमा पनि जानुपरेको थियो । पछिल्लो समय धरानका मेयर तिलक राईले उनको सम्मानमा प्रेस युनियनसँग समन्वय गरेर अक्षयकोष खडा गरि पत्रकारिता पुरस्कारको व्यवस्थासमेत गरिदिएका छन् ।

वीपीको आदर्श बोक्नेलाई हराएर के पायौ ?

आचार्यका अनुसार उनी महासमिति सदस्य हुनको लागि क्षेत्रीय प्रतिनिधि हुन आवश्यक थियो । त्यसैले प्रतिनिधिमा उनले पनि उम्मेदवारी दिएका थिए । तर, आफुलाई हराउनकै लागि धरानमा सभापति पदका उम्मेदवारले लिष्टको चिट बाँडेको उनले क्लिकधरानसँग प्रतिक्रिया दिए । ‘लिष्ट बनाएर चिट बाँड्यो, स्वतन्त्रपुर्वक भएको भए म जित्ने थिएँ,’उनले भने,‘म वीपीको आर्दश बोकेको कांग्रेस कार्यकर्ता हुँ, मलाई हराएर के पायो ?’ नगर सभापतिका उम्मेदवार किसोर राईले लिष्ट बाँडेको उनले बताए । 

आचार्यले आफ्नो योगदान, मुल्य र आदर्शलाई बुझ्न नसकेको पनि बताए । उनले प्रजातन्त्रको लागि लडेको व्यक्तिले त्यसवापतको उपहार पाएको टिप्पणी पनि गरे । उनले भने,‘मैले प्रजातन्त्रको उपमहार पाएँ, अपमान पाएँ । तर, मेरो आदर्श हारेको छैन । मलाई कोठे षडयन्त्रले निराश बनाउदैन । मेरो बारेमा कम्युनिष्ट कार्यकर्तालाई पनि थाह छ ।’