धरान: नेपाली कांग्रेस धरान उपमहानगरको सभापति पदका उम्मेदवार श्याम पोखरेलले पुर्वनगर सभापति तथा सभापतिका आकांक्षी किसोर राईले पार्टी कार्यालय बनाउने भन्दै उठाएको चन्दाको हिसाब फछ्यौट नगरेको आरोप लगाएका छन् ।

शनिबार आफ्नो प्यानलको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले १२ औं महाधिवेशनमा सभापतिमा जितेका राईले पार्टी कार्यालय बनाउने नाममा चन्दा उठाएर हालसम्म पनि फछ्यौट नगरेको आरोप लगाएका हुन् । पोखरेलले त्यसबेला पार्टी कार्यालय पान पसलमा सञ्चालन गरिरहेको र कार्यालय सञ्चालन गर्ने क्रममा नगरपालिकादेखि विभिन्न ठाउँमा चन्दा उठाएको हिसाबकिताब अहिलेसम्म पुर्वसभापति राईले फछ्यौट गर्न नसकेको पनि बताए । ‘म भन्न चाहन्छु, कांग्रेसको इमान्दार सिपाही हो भने, पार्टीप्रति वफादाहार हो भने, धराने जनताप्रति स्पष्ट हुन चाहनुहुन्छ भने, जनताले पत्याउछ र म क्लिन मान्छे हुँ भन्न चाहनुहुन्छ भने कांग्रेसको १२ औं महाधिवशेनमा नेतृत्व गर्ने नेतृत्वले पार्टी अफिस बनउछुँ भनेर संकलन गरेको चन्दाहरु १४ औं महाधिवेशनको ९ गते भन्दा अगाडिसम्म फछ्यौट गर्नुपर्छ,’पोखरेलले भने,‘ पार्टीको नाममा र पदमा बसेर भजाउनु हुदैन ।’

shyam-team

पोखरेलले आफु र आफ्नो प्यानल पार्टी र जनताप्रति इमान्दार भएको र फ्रेस पनि भएको जिकिर गरे । आफुहरुमा कुनै कलंक नभएको उनको भनाई थियो । ‘हामी कुनै कलंकमा छैनौ । यो भन्दा अघि पार्टीको महत्वपुर्ण जिम्मेवारीमा पनि थिएनौं, हामी जो जो छौं, फ्रेस छों । जो जो छौं, हामी पार्टीप्रति इमान्दार छौं, धरान र धराने जनताप्रति इमान्दार छौं,’उनले किसोर राईप्रति लक्षित गर्दै भने,‘मसँग प्रतिस्पर्धा गर्नको लागि केही साथीहरुले उम्मेदवारी दिदै हुनुहुन्छ । मैले भन्नै पर्छ, हामी फ्रेस र ताजा उम्मेदवार हौं । बासी भएर फ्रिजमा राखेको सामान तावामा तताएर ताजा बनाएर ल्याएको उम्मेदवार होइनौं हामी ।’

 उनले आफ्नो प्यानलका उम्मेदवारहरु भर्खर टिपेको फ्रेस सागको मुन्टा, फर्सीको मुन्टा जस्तो भएको बताए । ओइलाइसकेको, फ्रिजबाट निकालेर सुकाएर तताएर आलो जस्तो देखिने, खादा गन्हाउने जस्तो आफुहरु उम्मेदवार नभएको उनले बताए । ‘हामी सातै जना ताजा छौं । कलकलाउदो फर्सी र काक्राजस्तो छौं हामी । हामीलाई बफाइराख्नुपदैन, फ्रिजमा राखिरहनु पदैन । सुकाउन र तताएर झुक्याउन पदैन ।’