धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि यहाँको संस्थापन पक्षले महत्वपुर्ण ७ पदको लागि उम्मेदवारी घोषणा गरेको छ ।

आज शनिबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस धरानको संस्थापन पक्षले सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवारी घोषणा गरेको हो । नेवि संघबाट राजनीतिक शुरु गरेको पोखरेल गएको १३ औं अधिवेशनबाट कांग्रेस धरानको सचिवमा निवार्चित भएका थिए । उनले यसअघि नै उम्मेदवारी घोषणा गरिसके पनि आज पार्टीले औपचारिकरुपमा पदाधिकारीसहितको उम्मेदवारी घोषणा गरेको हो ।

congress-dharan3

दुई जना उपसभापति पदमा यो टिमबाट नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । राई २०७४ सालको स्थानीय चुनावमा धरानको वडा नं १८ का निवर्चित वडाअध्यक्ष हुन् भने लिम्बु वडा नं ५ का निवार्चित वडाअध्यक्ष हुन् । उनीहरु तरुण दल हुदै नेपाली कांग्रेसको राजनीतिमा आएका हुन् । यस्तै, दुई सचिव पदमा यो टिमबाट हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार छन् । श्रेष्ठ तरुण दल धरानको सभापति पनि हुन् भने यातायात व्यवसायीसमेत हुन् । राई नेवि संघबाट विद्यार्थी राजनीति गर्दै अहिले पार्टीको भुगोलको राजनीतिमा छन् । उनी धरानको वडा नं १९ मा कांग्रेसका महत्वपुर्ण खम्बा हुन् भने धरान गल्फ क्लबको सचिवसमेत हुन् ।

congress-dharan2

यसैगरि, यो टिमबाट दुई सहसचिवमा पदमा शिला बज्रचार्य र युनेस राना मगरले उम्मेदवारी घोषणा गरेका छन् । बज्रचार्य महिला अधिकारकर्मी तथा समाजसेवी हुन् । उनी महिला सञ्जाल धरानकी पुर्वअध्यक्षसमेत हुन् । सहसचिवका अर्का उम्मेदवार मगर पनि नेवि संघमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका युवा हुन् । कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी), क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, महासमिति सदस्य पर्वत राई, उमेश थापालगायतले माला, अबिर लगाएर शुभकामना दिएका थिए ।

congress-dharan4

मेयर राईले वर्तमान नेतृत्वले आफ्नो उत्तराधिकारीकोरुपमा युवाहरुलाई राजनीतिमा ल्याएको धारणा व्यक्त गरे । उनले कुनै गुट र उपगुटेको उम्मेदवारी घोषणा गरेको नभै धरानको नेपाली कांग्रेसको संस्थापन पक्ष एकजुट भएर अहिलेकै नेतृत्वको निरन्तरताको लागि उम्मेदवारी घोषणा गरिएको बताए । जिल्ला सचिव तामाङले पनि पुराना नेताहरुसहित नयाँ पुस्ता तथा युवाहरुलाई मौका दिएर धरानको जनसंख्या, मनोविज्ञान र आम कांग्रेस कार्यकता, क्रियाशिल सदस्यहरुको चाहना अनुसारको टिम तयार गरेको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा क्षेत्रीय सभापति श्रेष्ठ, प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।