धरान: प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले धरानको पर्यटन विकासको लागि विजयपुर बराहक्षेत्र सर्किट बनाउन आग्रह गरेका छन् । 

सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिले मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिवारीले व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् ।  मन्त्री तिवारीले घुम्न आएका पर्यटकहरुलाई २, ३ दिन भुलाउने गरि विजयपुर बराहक्षेत्र सर्किाट बनाउन आग्रह गरेका हुन् । यसको लागि उनले धरानलाई मात्र सोचेर नहुने पनि बताए । 

‘धरान आएका पर्यटकलाई २,३ दिन भुलाउनुपर्छ । त्यसको लागि १५, २० किलोमिटर परसम्म आफ्नो क्षेत्र ठान्नु भएन भने सम्भव हुदैन,’मन्त्री तिवारीले भने,‘एक दिन तमोरमा र्याफ्टिंग गराउने, एक दिन धरानमा बस्छ । अर्को दिन धरानको विजयपुर र बराहक्षेत्र लैजादा फेरि एक रात बस्छ । अर्को दिन रामधुनी र तालतलैजा, कोशीटप्पु लैजादा हुन्छ,’ मन्त्री तिवारीले भने,‘ पर्यटकसँग कति दिन छ, त्यही अनुसार टुरिजष्ट पोइन्ट समावेश गरेर प्याकेज बनाउनुपर्छ । धरानको प्रोडक्ट बराहक्षेत्र विजयपुर सर्किट बनाउनुपर्छ । भेडेटार भन्दा नाम्जे, राजारानी सम्म बुझ्नुपर्छ । बसन्तपुर भन्दा तीनजुरे डाँडा, आरआर गार्डेन बुझ्नुपर्छ । फराकिलो ढंगबाट बुझ्यौ भने मान्छे बस्छन् ।’

laxuman

मन्त्री तिवारीले पर्यटकहरुलाई धरान किन आउने भनेर बुझाउनुपर्ने पनि बताए । धरानलाई धार्मिक पर्यटनकोरुपमा विकास गरेर विजयपुुर क्षेत्र, बराहक्षेत्रलाई जोगवनीदेखि २ सय किलोमिटरसम्म मार्केटिङ गरे बर्षमा ५० लाख भारतीय पर्यटकहरु आउने उनले बताए । ‘धरान मात्र भनेर त पर्यटकहरु आउदैनन् । धरानसँगैसँगै धरानले भेडेटारको, गुराँस क्षेत्रको, मकालुको, कञ्जनजंघाको, कन्यामको मार्केटिङ गर्नुपर्यो । त्यसरी गर्ने हो भने धरानको पर्यटन अघि बढ्नसक्छ,’मन्त्री तिवारीले भने ।  उनले धरानलाई धार्मिक, स्वास्थ्य, शैक्षिक र साँस्कृतिक पर्यटनकोरुपमा पनि अघि बढाउनुपर्ने पनि बताए । हिमाल, पहाड र तराई आउने जाने ट्रान्जिट पोइन्टकोरुपमा धरानलाई विकास गरेमा मात्र एक रात पर्यटकहरु धरानमा बास बस्ने मन्त्री तिवारीको भनाई थियो । 

laxuman2

देश १ मा विगतकै कोशी, मेची र सगरमाथा कोरिडोरकोरुपमा हेर्ने हो भने पछि विश्वप्रसिद्ध सगरमाथा, मकालु र कञ्जनजंघा हिमाल रहेको मन्त्री तिवारीले बताए । सगरमाथालाई काठमाण्डौं नजिक हुने र उताका व्यवासायीहरुले बेचे पनि धरान, इटहरी, विराटनगरका व्यवसायीहरुले मकालु र कञ्चनजंघा हिमाल बेच्नसक्नुपर्ने मन्त्री तिवारीले बताए । कोशी, मेची र सगरमाथा कोरिडोरमा नै हिमालबाहेक हलेसी, बराहक्षेत्र र पाथीभारा जस्तो प्रसिद्ध धार्मिकस्थल पनि भएकोले यसलाई पनि पर्यटनसँग जोड्नुपर्ने उनले बताए । हिमनदीहरुलाई यातायात, मनोरञ्जन र साहसिक जलयात्राकोरुपमा विकास गर्ने, निकुञ्ज र संरक्षण क्षेत्रहरुलाई पनि पर्यटकीय आकर्षण बनाउन लागिपर्नुपर्ने मन्त्री तिवारीको भनाई थियो ।