धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययनबाट यस्तो देखिएको हो । विश्व पर्यटन दिवसको अवसरमा हिजो (मंगलबार) संघले आयोजना गरेको कार्यशाला गोष्ठीमा बास्तोलाले अध्ययनको निष्कर्ष तथा कार्यपत्र प्रस्तुत गरेका थिए । अध्ययनको निष्कर्ष अनुसार धरानको पर्यटन गतिविधि ५२ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको पाइएको छ । यस्तै, २१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

कोभिड भन्दा अघि नै पनि धरानको पर्यटनलाई डेंगुको महामारीले पनि प्रभावित बनाएका थियो । ‘पछिल्लो ४ बर्षदेखि डेंगुको सुरुवात भएसँगै धरानको पर्यटनको गतिविधि अस्तब्यस्त भएको देखिन्छ,’ अध्ययनको सारांशमा भनिएको छ । 

१ अर्ब ३१ करोड मात्र लगानी

tou 1

धरानको पर्यटनमा व्यवसायीहरुले १ अर्ब ३१ करोड मात्र लगानी गरेको अध्ययनबाट देखिएको छ । यातायात क्षेत्रमा भने ४ अर्ब ५० करोड रुपैया लगानी गरेको देखिएको छ । यद्यपी, अध्ययनको यो निष्कर्षप्रति कतिपय व्यवसायीहरुले नै वास्तविक नभएको हुनसक्ने प्रतिक्रिया दिए । व्यवसायीहरुले आफुले गरेको वास्तविक लगानी खुलेर नभन्ने कारणले धरानको पर्यटनमा भएको लगानी थोरै देखिएको हुनसक्ने एक व्यवसायीको भनाई छ । धरानका ८० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन् । सरकारी निकायबाट छुटको व्यवस्था दिइएको भएपनि ९० प्रतिशत व्यवसायीले छुट नपाएको पनि अध्ययनबाट देखिएको छ । 

धरानको पर्यटन बजारमा पहिलो नम्बरमा आन्तरिक, दोस्रो नम्बरमा भारतको विहार, तेस्रोमा वंगाल र चौथोमामा मात्र तेस्रो मुलुक वा विदेशी पर्यटकहरु आउने गरेको तथ्यांक पनि अध्ययनबाट खुलेको छ । कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ । यो ५५ प्रतिशतले घटेको हो । 

यस्तै, आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ । यो ५४ प्रतिशतले फरक हो । खर्च पनि कोभिड अघि ७ करोड १६ लाख २७ हजार हुदै आएकोमा कोभिड पछि ३ करोड ३७ लाखमा सिमित भएको छ । 

यस्तो छ सुझाव

tourism1

अध्ययनले धरानलाई पर्यटकीय नगरीकोरुपमा तोक्नुपर्ने सुझाव दिएको छ । यस्तै, धरानमा २४ घण्टा पर्यटकीय सेवा (नाइट मार्केट) सञ्चालन गर्न पनि अध्ययनको सुझावमा उल्लेख छ । यसैगरि, पर्यटन प्रोडक्ट निक्यौल गर्न, पर्यटकहरुलाई अलमलाउने पुर्वाधारहरु बढी मात्रामा विकास गर्न, पर्यटन बजारमा विविधता ल्याउन पनि सुझाव दिएको छ ।

यसैगरि, धार्मिकस्थलको महत्व सबैसम्म पुर्याउन भुमिका खेल्न, पर्यटकहरुलाई सुरक्षाको अनुभूति गराउन पहल गर्न, नीति तथा कार्यक्रम बनाउदा निजी क्षेत्रको भावना समेट्न पनि सुझाव दिएको छ । साथै, धरानमा साहसिक पर्यटनको सम्भावना भएकोले यसको सम्बोधन गर्न पनि जरुरी रहेको अध्ययनले औल्याएको छ ।