धरान: हङकङबाट नेपाल आएर भ्रमणको क्रममा भीरबाट खसेर मृत्यु भएका पत्रकार  किसन राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम हुदैछ ।

मृतक राईको पोष्टमार्टम पश्चात आज नै धरान १५ स्थित साकेला पार्कमा अन्त्येष्टी गरिने नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकका परिवारजन हङकङबाट आएपछि आज पोष्टमार्टम भइरहेको छ । उनले भने,‘किसन जीको शवको पोष्टमार्टम हुदैछ, त्यसपछि यही भेला भएर अन्त्येष्टीको लागि लैजान्छौ ।’

मृतक राई धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका थिए । उनी प्रकाशक तथा सम्पादक रहेको नेपाली भाषाको साप्ताहिक पत्रिका एभरेष्ट दुई दशकदेखि निरन्तर प्रकाशन भइरहेको छ । यो पत्रिका विदेशी भुमिबाट लामो समय प्रकाशन हुने एक मात्र पत्रिका हो । मृतक राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष पनि थिए । साथै उनी नेपाल आदिबासी जनजाति महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्षलगायत संघसंस्थाहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरेका थिए । हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि उनलाई पदवीबाट बिभुषित गरेको थियो ।

पश्चिम भ्रमण सकेर धरान आउने क्रममा कार्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट पत्रकार राई खसेका थिए । उनी ट्वाइलेट जाने क्रममा भीरबाट खसेको बताइएको छ । साँझ करिब ५ बजेतिर भीरबाट करिब २ सय मिटर तल खसेका राईको शव राती करिब १० बजेतिर मात्र प्रहरीले फेला पारेको थियो ।