धरान: धरानका सामाजिक अभियन्ता हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राइभेट क्लिनिक भइसकेको टिप्पणी गरेका छन् ।
आइतबार धरान उपमहानगरपालिकामा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँगको अन्र्तक्रियामा साम्पाङले यस्तो टिप्पणी गरेका हुन् । मन्त्रीकै अघि उनले प्रतिष्ठानको विकृतिहरुको फेहरिस्त प्रस्तुत गर्दै वीपी प्रतिष्ठानको उपचार सेवा सर्वसाधारणको पहुँचभन्दा बाहिर भइसकेको बताए । उनले भने,‘पेइङमा उचपार गर्न जादा तत्काल हुन्छ, तर जनरलबाट उपचार गर्न जादा अप्रेशन गर्नुपर्यो भने २, ३ महिना लाग्छ । प्रतिष्ठान प्राइभेट क्लिनिक भइसक्यो ।’
साम्पाङले प्रतिष्ठानको स्वास्थ्य विमा सेवा चुस्त बनाउनुपर्ने, निःशुल्क औषधी पाउने व्यवस्था गर्नुपर्नेमा पनि जोडदिए । यस्तै, न्युन संख्यामा भएको आइसियु बेड थप गर्न, इर्मजेन्सीको क्षमता विस्तार गर्न, प्रतिष्ठानमा ट्रली र स्टेचर थप गर्न, सरसफाई र सुरक्षामा ध्यान दिन पनि मन्त्री खापुङको ध्यानाकर्षण गराए ।