धरान ः प्रदेश नं १ ले आज नयाँ मुख्यमन्त्री पाउदैछन् । गठबन्धन दलहरुकोतर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी(एस)का नेता राजेन्द्र राईलाई अघि सारिएको छ । 

आज दिउँसो २ बजे पछि प्रदेश प्रमुख कार्यालयले सपथ ग्रहणको तयारी गरेको छ । राईले आजै ५ सदस्यीय मन्त्रीपरिषद पनि गठन गर्ने तयारी गरेको बताइएको छ । एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट एक एक जना मन्त्री पनि नियुक्त गर्ने गठबन्धनको तयारी छ । मन्त्री छान्नको लागि गठबन्धनको बैठक चलिरहेको छ । 

मुख्यमन्त्री पदबाट एमाले नेता भीम आचार्यले हिजो पदबाट राजिनामा दिएपछि नेकपा एसका नेता राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । विश्वासको मतको प्रस्ताव माथि मतदान हुनुअघि नै आचार्यले पदबाट राजिनामा दिए पछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । सोही अनुसार ५ विपक्षी दलहरुले मुख्यमन्त्रीमा राईलाई अघि सार्दै नयाँ सरकार गठनको दाबी पेश गरेका थिए । 

भोजपुरको हाल षडानन्द नगरपालिका १० मा पर्ने सुर्केमा २०२७ साल असार १५ गते जन्मिएका हुन्, राजेन्द्र राई । उनी भोजपुरमा हुँदा नै विद्यार्थी राजनीतिमा लागेका थिए । उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी हुदै संगठनको केन्द्रीय अध्यक्ष समेत भए । साथै, काठमाण्डौंमा आरआर क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए । 

पञ्चायती शासनविरुद्ध उभिदा जेल परेका राई ज्ञानेन्द्र शाहले कु गरेपछि गणतन्त्रको नारा उठाउदा पनि जेल परेका थिए । एमालेको केन्द्रीय सदस्य राई माधवकुमार नेपालले पार्टी विभाजन गरेपछि केन्द्रीय सचिव छन् । उनी आज तेस्रो मुख्यमन्त्रीकोरुपमा सपथ ग्रहण गर्दैछन् भने भोजपुरले दोस्रो मुख्यमन्त्री पाउदैछ ।