धरान: प्रदेश नं १ मा मुख्यमन्त्री राजेन्द्र राईसहित ६ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । साथै, ४ जना मन्त्री र एक राज्यमन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, कांग्रेसबाट आन्तरिक मामिला मन्त्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की र जसपाबाट सामाजिक विकास मन्त्री जयराम यादवले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले सामाजिक विकास राज्य मन्त्रीकोरुपमा सपथ ग्रहण गरेकी छिन् । 

मुख्यमन्त्री राईले सपथ ग्रहण पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा नराम्रो काम नगर्ने र प्रदेशको नाम राख्ने बताए । आफ्नो सरकारको प्राथमिकताबारे प्रतिक्रिया दिदै मुख्यमन्त्री राईले भने, ‘नराम्रो नगर्ने, राम्रो काम गर्ने प्राथमिकता हो । प्रदेशले नाम पाएको छैन, हाम्रो पालामा टुंग्याउछौं ।’ मुख्यमन्त्री राईले बजेटको दायरा बढाएर प्राथमिकताको क्षेत्रमा विनियोजन गर्ने पनि बताए । 

भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने, शान्ति सरक्षा र सुशासन कायम राख्ने सरकारको प्राथमिकता भएको पनि मुख्यमन्त्री राईको भनाई थियो । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद विस्तार गर्ने पनि बताए । विश्वासको मत पाउने अवस्था नभए पछि एमाले नेता भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजिनामा गरेपछि नेकपा एकीकृत समाजवादीका नेता राई तेस्रो मुख्यमन्त्री भएका हुन् । विभिन्न ५ दलीय गठबन्धनले राईको नेतृत्वमा प्रदेश नं १ मा सरकार बनाएको छ ।