धरान: चर्चित पर्यटकीयस्थल भेडेटारको शैलुङ डाँडा अर्थात चार्ल्स पोइन्ट पर्यटकहरुको प्रमुख गन्तव्य हो । भेडेटार चोकदेखि नजिकै पश्चिम उत्तरमा अवस्थित डाँडामा बेलायती राजकुमार चार्ल्स चढ्नु अघि शैलुङ डाँडाको नामले चिनिन्थ्यो । जब राजकुमार चार्ल्स शैलुङ डाँडामा उभिएर वरिपरि नियाले, तब यो डाँडाको नाम पनि फेरिएर चार्ल्स पोइन्ट भयो । 

हुन त यो डाँडा आफैमा अग्लो छ । त्यहाँ उभिएर तराई, सप्तकोशी, पहाडी भुभाग मात्र होइन, मौषम खुलेको बेला हिमालको मनोरम दृष्य पनि देखिन्छ । भेडेटार बजार र कोशी राजमार्गको धरान भेडेटार नागवेली सडक सडक खण्डको दृष्य आँखा र क्यामेराले कैद गर्नेहरु त्यहाँ नचढी धरै छैन । यही अग्लो डाँडामा भ्यु टावर पनि निर्माण गरिएको छ । २०७२ सालको भुकम्पले क्षति पुगेको टावरलाई १ करोड लगानी गरेर पुननिर्माण गरि आकर्षक बनाइएको छ । तर, यो भ्यु टावर पनि अब भत्किने भएको छ । 

kumar-jang-yakha

साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाका अनुसार पर्यटकहरुलाई भ्यु टावरभन्दा अझ राम्रो आकर्षण चाहिने भएपछि स्काई वाक निर्माण हुन लागेको छ । सोही स्काई वाक बनाउन १ करोड लगानी गरेर पुननिर्माण गरिएको भ्यु टावर भत्काउनु पर्ने भएको उनले बताए । अहिलेको भ्यु टावर भत्काएर स्काई वाक बन्नेछ भने त्यहाँ अर्को अग्लो र आकर्षक टावर बन्ने पनि अध्यक्ष याक्खाको भनाई छ । 'यो भ्यु टावर भत्काएर ठुलो संरचना स्काई वाक बन्छ । ४३ मिटर अगाडि स्काई वाक र त्यो भन्दा राम्रो दृष्यावलोकन गर्नको लागि त्यही पनि भ्यु टावर बन्छ,'उनले भने,' १ करोड लगानीको भ्यु टावर त्यसै भत्काउदैनौ, यो भन्दा राम्रो, यो भन्दा अग्लो टावर लगानी बोर्डले बनाइदिन्छ । यो छिट्टै गतिमा बन्छ, र आगामी १० औं फुड फेस्टिवलमा तपाई हामीले स्काई वाकको दृष्यवलोकन गरेर मजा लिन सक्नेछौ ।' 

bhedetar-skywalk-click

गाउँपालिका अध्यक्ष याक्खाका अनुसार लगानी बोर्डबाट १९ करोड ८५ लाख लगानीमा स्काई वाक निर्माण हुनेछ । यसैगरि, प्रदेश सरकारको लगानीमा नै कान्तिपुर टावरको आसपासमा अर्को भ्यु टावर पनि निर्माण हुने उनले बताए । त्यसको लागि प्रदेश सरकारबाट शुरुवातको बजेट पनि आइसकेको उनले जानकारी दिए । भेडेटार चोकभन्दा ३ किलोमिटर दुरीमा प्रदेश सरकारकै लगानीमा बौद्ध विहार पनि बनिरहेको र जनजाति पार्कमा सबै जातिको सँस्कार सँस्कृतिको झलक दिने गरि निर्माण भइरहेको अध्यक्ष याक्खाको भनाई छ । 

होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले पनि स्काई वाक निर्माणको लागि चाल्र्स पोइन्टको भ्यु टावर भत्किने भएपनि स्काई वाकको लम्बाईलाई थाम्नको लागि अग्लो टावर निर्माण हुनेछ । सोही टावरलाई भ्यु टावरकै डिजाइनमा निर्माण गरिने उनले बताए । 'यो स्काई वाक दक्षिण एसियाकै पहिलो हुनेछ, त्यसैले यो नेपालकै पर्यटनको लागि महत्वपुर्ण हुनेछ, 'उनले भने । 

भिडियो: