धरान: धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा  मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षणमा उपमहानगरपालिकाले चासो देखाएको छ । 

पछिल्लो समय मन्दिर परिसरमा रहेको टुप्पो बिनाको बाँसको तामा आउन छोडेपछि धार्मिक महत्व बोकेको बाँसको संरक्षणमा उपमहानगरले चासो देखएको हो। बासले तामा हान्न छाडेपछि यहाँका स्थानीय सरकार, राजनितिक दल, बुद्धिजीवि तथा स्थानीयबासीहरु संरक्षण गर्न लागि परेका छन् । नयाँ तामा नआउदा टुप्पो विनाको बाँस लोप हुने चिन्ता स्थानीयबासीमा छ । 

मेयर तिलक राईको नेतृत्वमा सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीहरुले शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बासहरुको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि वनस्पति सम्बन्धिका विज्ञको रायनुसार स्तरोन्नति गरिने मेयर राईले बताए । 

मेयर राईले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बासहरुको संरक्षरण गर्ने कार्यमा धरान उपमहानगरपालिका लागि पर्ने बताए । मन्दिर परिसरमा भएका बाँसमा युवा युवतीहरुले पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको  प्रेम सफल हुन्छ भन्ने किमादन्ती रहेकोले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने मान्यता छ ।