स्कुल पढ्दा नै बुढासुब्बा मन्दिरबारे किताबमा पढ्न पाइएको थियो, त्यसैले सानैदेखि धरान १४ विजयपुरस्थित यो मन्दिरबारे केही धेर थोर थाह थियो । धेरै अघिको र पुरानो कोर्षको किताब भएकोले के के लेखिएको थियो भन्ने अहिले त्यति धेरै याद छैन । तर, बुढासुब्बाबारे नै थियो भन्ने चै पक्का छ ।

पछि थाह भयो, बुढासुब्बा मन्दिर त प्रसिद्ध धार्मिकस्थल रहेछ । यहाँको टुप्पो विनाको बाँसको चर्चा अहिले पनि व्यापक छ । स्कुल पढ्दा नै मट्यांग्रा भेटिन्छ भन्ने सुनेको थिएँ । मन्दिर भित्र मुर्ति छैन । माटोको ढिस्को छ । जुन हामी जंगल च्याउ खोज्न जादा धमिराको ढिस्को देखिन्थ्यो, त्यस्तै ढिस्को तर खदिलो माटो छ । यहाँ रक्सी पनि चढाउनुपर्छ । यस्तो चलन सायदै अन्य मठमन्दिरमा छ ।

‘लभ’ परेका युवायुवतीहरुले यहाँको बाँसमा नाम खोप्ने चलन थियो । नामको अंग्रेजी, नेपाली पहिलो अक्षर केटा र केटीको लेख्ने गरिन्थ्यो । धेरै जसो अंग्रेजी अक्षर नै लेख्ने गर्थे । जस्तो आर प्लस एम । यहाँको बाँसमा मान्छेले भेटुञ्जेल कुनै ठाउँ बाँकी रहदैनथ्यो । त्यसरी नाम वा नामको अक्षर लेख्दा प्रेम सफल हुन्छ भन्ने विश्वास थियो । त्यसरी बाँसमा खोप्दा असर परेको भन्दै लेख्न नमिल्ने गरी बाँसलाई घेराबारा गरियो । अनि, शुरु भयो डोरा बाँध्ने चलन । जुन अहिले पनि यथावत छ ।

budha10

यहाँ कुखुरा वलि दिइन्छ । दशैंमा महानवमीको दिन सँगुर वलि दिने चलन छ । यहाँ भक्तजनहरुले भाकल अनुसारको कुखुरा चढाउछन् । पुजारीले टाउको काटेर बाहिर फालिदिन्छन् । टाउको मन्दिरमै रहन्छ । भक्तजनहरुको घुँइचो भएको बेला आफ्नो कुखुरा कुन हो भनेर खुट्याउन हम्मे पर्छ । कुखुरा साटिने डर पनि उत्तिकै हुन्छ । कुखुराको मुटु कलेजोबाट जोखाना हेर्ने यहाँको अनौठो चलन छ ।

बुढासुब्बाको उत्पत्ति कहिले र कसरी भयो ? प्रष्ट छैन । मन्दिर भित्र भएको माटोको ढिस्को के हो ? यो बारेमा धेरै किंवदन्तीहरु छन् । कसैले बुढा सुब्बा र उनकी बहिनी सुब्बेनीको समाधिस्थल भनेका छन् । शिकार खेल्दै आउदा यहाँ बास बसेको र उनीहरु यही समाधिस्त भएको भनिन्छ । उनीहरुले बोकेको धनुषबाट नै मन्दिर परिसरको टुप्पो विनाको बाँस उम्रिएको किंवदन्ती छ । यहाँको बाँसको टुप्पो नहुनुको कारण धनुषबाट उम्रिएकोले हो भन्ने विश्वास छ ।

budha-subba13

मुख्य मन्दिरसँगै उत्तरतर्फ पनि अर्को मन्दिर छ । त्यो बहिनी सुब्बेनीको हो भनिन्छ । कसैले बुढासुब्बा बुद्धिकर्ण रायको समाधि भनेका छन् भने कसैले त एकलव्यको समाधि पनि भनेका छन् । किरात इतिहासकार इमानसिं चेम्जोङले बुद्धिकर्ण राय अर्थात बुढा सुभा(सुब्बा)को समाधि भनेका छन् । नेपाल एकीकरणको क्रममा उनलाई गोर्खाली सेनाले मारेको भन्ने चेम्जोङले लेखेका छन् । खासमा मन्दिर भित्रको माटोको ढिस्को के हो ? तथ्यहरुसहित प्रमाणित हुन सकेको छैन । आस्था, विश्वास र मान्यताहरु तथ्यबाट प्रमाणित हुनुपर्छ भन्ने पनि छैन । मानिसहरु मनोकांक्षा पुरा हुने विश्वास गर्छन् । पुरा भएको भन्दै भाकल अनुसार कुखुरा लिएर आउनेहरु पनि हुन्छन् । बिशेष गरि किरातीहरुले मान्ने आस्थाको केन्द्र हो बुढासुब्बा ।

बुढासुब्बा मन्दिरबारे धेरै कुरा थाह हुन बाँकी रहेछ भन्ने हिजो मात्र थाह भयो । बुढासुब्बा मन्दिर प्रवेश गर्ने मुलगेट नजिकै घर भएका आदरणीय दाई प्रेमप्रसाद पराजुलीले फोन गरेर बर्षमा एक दिन यहाँको बाँस काटिन्छ, त्यो बैशाख पुर्णिमाको अघिल्लो दिन हो भन्नुहुदा हिजो आश्चर्यमा परे । म तत्काल पुग्न त सकिन, प्रेम दाई नै मेसेन्जरमा बाँस काट्दै गरेको फोटोहरु पठाइदिनुभयो । त्यसरी काटिएको बाँसको टुक्राहरु भक्तजनहरुले प्रसादकोरुपमा लैजान्छ भन्ने पनि हिजै मात्र थाह भयो । बैशाख पुर्णिमाको दिन यहाँ बिशेष पुजा हुन्छ भन्ने कुरा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आले दाईसँग कुरा गर्दा थाह भयो । यतिका बर्षसम्म यो कुरासँग अनभिज्ञ रहेछुँ ।

budha-subba1

आज बैशाख पुर्णिमा, बुद्ध जयन्ती पनि । सामान्य अवस्था भए, किरातीहरु ढोल झ्याम्टा बजाउदै उभौली पुजामा ब्यस्त हुन्थे । तर, कोरोना भाइरस संक्रमणको कारण देशमा लकडाउन छ । यसपाली किरातीहरुले सार्वजनिकरुपमा उभौली मनाएनन् । लकडाउनकै कारण मठमन्दिर, चर्च, गुम्बा, मस्जिदहरुमा पुजाअर्चना, प्रार्थना गर्न, भेला हुन प्रतिबन्ध छ । विजयपुरको मन्दिरहरु बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरमा पनि भक्तजनहरुको लागि प्रतिबन्ध छ । आज बिहान भने बुढासुब्बामा केही बेर चहल पहल भयो । मन्दिरलाई सिंगारिएको थियो । पुजा घरबाट निसान, लिंगो र गहनाहरु मन्दिरमा ल्याएर पुजा गरियो । केही थोरै संख्यामा भक्तजनहरु पनि आएका थिए । 

पहिला आजको दिन भव्य पुजा हुन्थ्यो । दिउँसो २, ३ बजेसम्म कुखुरा लिएर भक्तजनहरुको लाम लाग्थ्यो । बुद्ध जयन्ती पनि भएकोले आजको दिन काटमार नहोस् भन्ने माग पनि हुनथालेपछि विस्तारै आजको दिन वलि दिने चलन घट्दै गएको रहेछ । व्यवस्थापन समितिका सचिव उत्तम आले दाईले पनि आजको दिन सकेसम्म भक्तजनहरु कम संख्यामा आओस् भन्ने आफुहरु चाहने बताए ।

बुढासुब्बाको उत्पत्तिबारे(विकिपिडिया अनुसार)

बुढासुब्बा:

budha

बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढासुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढासुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ ।

बुद्धिकर्णको समाधि:

budha8

इमानसिंह चेम्जोङको भनाइ अनुसार यो मोरङका अन्तिम राजा बुद्धिकर्णको हो । बुद्धिकर्णलाई कसैले राय भनेका छन् भने कसैले खेबाङ । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुरलगायत पुर्वीय क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कुटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका अनुयायीहरूले मृतआत्माको चिरशान्तीका लागि समाधिस्थल निर्माण गरी पुजन कार्य गर्दै आए । बुद्धी कर्ण राय खेवाङ आत्मा भएर मानिसहरुको मद्दत गर्न थाले । स्थानीयहरूले राजाको आत्माको राम्रो प्रभाव पार्ने भएर पूजा गर्न थाले (सुब्बा वा हांगको अर्थ राजा हुन्छ ।)

किरातेश्वर:

समाधिस्थललाई किराँतेश्वरको रूपमा पुज्नेहरु पनि छन् । भगवान शिव र देवी पार्वती खेवासाङ्ग र युवासमाङ्गको भेषमा किरात राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए, जहाँ उनीहरूले आफ्ना धनुहरू रखेर तपस्या गरे । त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । त्यस घटनालाई किरात भाषामा बुढासुब्बा भनिन्छ । धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए ।

एकलब्य:

budha-subba2

कुनै समयमा बिरयोद्धा एकलब्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढासुब्बाको नाम दिई सिद्धपीठको रूपमा पुँजा गर्दै प्रचार प्रसारसमेत गर्न थालेका श्रुतिकथा छन् । जुन कुरालाई स्पष्ट गर्न बुढासुब्बा (यलम्बहाङ) एकलब्य हुन् भनेर नि भनिन्छ तर महाभारतमा वीरपुरुष एकलब्य र यलम्बरहाङ बेग्लाबेग्लै व्यक्ति भएको सङ्केत गरिएको पाईन्छ ।

budha6 budha7 budhasubba budha-subba5 budha-subba8 budha-subba9 budha-subba11 budha-subba12 budha-subbba3