धरान: तीन दिनअघि पुष २३ गते शुक्रबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा भएको थियो । उक्त साधारण सभामा बराहले गत आर्थिक बर्ष २०७७/0७८ मा ३ करोड ६७ लाख बढी खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत भयो । त्यति मात्र होइन, सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने पनि उक्त साधारणसभाले निर्णय गरेको थियो । 

बराहका सेयर सदस्य र वचतकर्ताहरुको लागि यो खबर सुखद हुनु पर्ने थियो । तर, वास्तविकता भने अर्कै छ । हिजो आइतबार सधैं झैं वचतकर्ताहरु आफ्नो वचत रकम फिर्ता लिन धरान ८ स्थित नयाँ बराह कम्प्लेक्समा पुगे । तर, सहजरुपमा पाउन सकेनन् ।

वचतकर्ताहरुका अनुसार १५ हजार रुपैया पनि सहकारीले भनेको बेला दिन सकिरहेको छैन । यो समस्या हिजो मात्र सृर्जना भएको होइन । वचतकर्ताहरुका अनुसार धेरै अघिदेखि बराहले वचतकर्ताहरुलाई मागे जति र भनेको बेलामा पैसा फिर्ता गर्न सकिरहेको थिएन । अहिले भने वचतकर्ताहरुमा आक्रोश र आफ्नो पैसा डुब्ने चिन्ताले सताइरहेको छ । बराहको यो बित्तिय संकटले यहाँको सेयर सदस्य र वचतकर्ताहरुलाई मात्र होइन, आम धरानबासीहरुलाई पनि चिन्ता र चासो छ । कतै बराह डुब्ने त होइन ? बजारमा अहिले यही चर्चा छ । 

धरानका थुप्रै सहकारीहरुले निक्षेपकर्ता सर्वसाधारणहरुको रकम डुबाएका छन् । गरिब, सामान्य गरिखाने मानिसहरुले मेहनत, मजदुरी गरि जोगाएर वचत गरेको पैसा डुबाएर कतिपय सहकारीका सञ्चालकहरु फरार छन्, केही कानुनी कारबाहीमा छन् । सहकारीप्रति आम सार्वसाधारणहरु त्रसित भइरहेको बेला बराहको यो संकटले सहकारीप्रतिको विश्वास थप कमजोर बन्दै गइरहेको छ । बराहको संकटप्रति धेरै चिन्ता र चासो प्रकट हुनुमा हजार, लाख रुपैया मात्र होइन, करोडौ रकम 'फिक्स डिपोजिट' गर्ने संख्या थुप्रै छन् । अवकाश पाएका भूपू सैनिकहरुले धेरै रकम जम्मा गरेका छन् । बराहले यो संकट कसरी पार पाउला ? गम्भीर प्रश्न छ । 

सुनचाँदी व्यापारबाट शुरु भएको बराह ग्रुपसँग २ दर्जन हाराहारीमा कम्पनीहरु छन् । धरानबाट काठमाण्डौं, पोखरा, नारायणघाट हुदै विदेशमा पनि व्यापार विस्तार गरिसकेको छ । बराहले दिन प्रतिदिन व्यवसायिक सफलता हासिल गरिरहदा कहाँ चुके यसका सञ्चालक र व्यवस्थापन पक्ष ? बराहका सञ्चालक, उच्च तहका कर्मचारीहरुले संस्थालाई उभो लगाउन लागिपरे कि आफ्नो व्यक्तिगत फाइदाको लागि उपयोग गरे ? आम सर्वसाधारणहरुमा भने बराहका सञ्चालक र उच्चकर्मचारीहरुप्रतिको धारणा सकरात्मक छैन । उनीहरुले जनताको पैसा आफ्नो व्यक्तिगत लाभको लागि दुरुपयोग गरेको बुझाई छ । यसलाई यसका सञ्चालक, कर्मचारीहरुले चिर्न सकेका छैनन् । 

के भन्छन् बराहका सञ्चालक एवं अध्यक्ष मानबहादुर विश्वकर्मा ?

बराहका सञ्चालक एवं अध्यक्ष मानबहादुर विश्वकर्मा तरलताको कारण व्यवस्थापन गर्न असहज भएको बताउँछन् । सहज परिस्थिति नभएसम्म थोरै थोरै रकम मात्र लगेर सहयोग गरिदिन निक्षेपकर्ता एवं वचतकर्ता सदस्यहरुलाई आग्रह गरिरहेको उनी बताउँछन् । सदस्यबाट संकलित रकम सेयर सदस्यहरुकै विभिन्न व्यापार, व्यवसायमा ऋण प्रवाह गरेको र संस्थाको केही अलच प्रोपर्टीमा पनि लगानी भएको कारण सहज हुन समय लाग्ने उनले बताए । 'ठुला सेयर होल्डरहरुलाई बजार सहज हुन समय लाग्छ, धैर्यता गरिदिनुस् भनिरहेका छौ,' उनले भने ।

 उनले संस्थाको नियम अनुसार नै ऋण प्रवाह गरेको पनि दाबी गरे । चलअचल सम्पत्तिलाई सुरक्षित राखेर ऋण लगानी भएको र ऋण उठाउन ताकेता गरिरहेको उनले बताए । सञ्चालक र उच्च कर्मचारीहरुले पनि नियम अनुसार नै ऋण लिएको र उठाइ पनि रहेको उनले दाबी गरे । 'संस्थाको नियम अनुसार ऋण प्रवाह गरेका हुन्छौ,मल्टिप्रपोज कम्प्लेक्स चलाउने भनेर लगानी गर्यौ, कोरोना महामारीले शिथिल भएर उठ्ने क्रममा अगाडि बढ्यौ, अहिले फेरि सहकारी सदस्यहरुलाई भनेको बेला यही समयमा भुक्तानीमा समस्या आयो,'उनले भने,'संक्रमणकालिन परिस्थितिमा सबैलाई गाह्रो छ, तर हामी चाडो निकास निकाल्छौं । निक्षेप जसरी पनि फिर्ता गछौ ।' 

'कोरोना महामारीले थला पर्यौ'

सञ्चालक विश्वकर्मा कोरोना महामारीको कारण बित्तिय संकट आइपरेको बताउँछन् । महामारीले असहज परिस्थिति बने पनि सामाना गर्दै आएको तर ऋण लगानी उठाउन गाह्रो भएकोले समस्या भएको उनले बताए । 

'कोरोना महामारीले गर्दा सहज परिस्थिति बनाएन । फेस गर्दै आयौ, ऋण उठाउन सकिएको छैन । ताकेता गरिरहेका छौ,'उनले भने, जो जो सदस्यहरुले ऋण लगेर व्यापार चलाउनु भएको छ, उहाँहरुलाई पनि कोरोनाले गाह्रो बनायो, पैसा जम्मा गछौं भनेर उहाँहरुले भनिरहनु भएको छ । जहाँ जहाँ लगानी गर्यौ, सहजरुपमा रिटर्न हुन सकेको छैन ।' तरलता व्यवस्थापन गरेर चलाएको भएपनि अहिले निक्षेप संकलन (डिपोजिट आउने) भन्दा पैसा जाने बढेर गएको विश्वकर्माले बताए । 

के हुदैछ पहल ?

विश्वकर्मा परिस्थिति सहज बनाउन ४ वटा प्रयत्न भइरहेको बताउँछन् । उनका अनुसार वास्तविकताबारे निक्षेपकर्ता, सेयर सदस्यहरुलाई बुझाएर सहयोग गर्न आग्रह गर्ने काम भइरहेको छ । संस्थाले थप लगानी गर्न पनि आग्रह गरिएको उनले बताए । 'दोस्रो, थप सदस्यहरुलाई निक्षेप गर्न, डिपोजिट गर्न भनिरहेका छौ । तेस्रो, ऋण लगानी उठाउन टिम पपिरचालन गरिरहेका छौ,'उनले भने, 'अर्को, सेयर सदस्यहरुबाट सञ्चालित व्यवसायिक फर्मलाई लगानी गर्दा प्रोपर्ट राखेका छौ, अब पैसा चाडो ल्याउन वा चलअचल प्रोपर्टी बैंक प्रोसेसबाट बिक्री गरेर फिर्ता गर्ने प्रयास थालेका छौ ।'