धरान: धरानमा पछिल्लो एक सातामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २ दिन (आइतबार र सोमबार) मात्रै गरिएको परिक्षणमा १८२ जनामा संक्रमण पुष्टि भएको छ ।

एक सातायता मात्र धरानमा सक्रिय संक्रमितको संख्या ३ सय बढी पुगेको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । पछिल्लो समय देखा परेको ओमिक्रोन भेरियन्ट छिटो एवं तीब्र गतिमा सर्ने भएकोले धरानमा पनि संक्रमितहरुको संख्या ह्वात्तै बढेको उनको भनाई छ । ‘१६ र १७ तारिखको रिपोर्ट अनुसार धरानमा १८२ जना संक्रमित थपिएको छ,’उनले भने,‘एक साताभित्रै साढे ३ सय जति सक्रिय संक्रमित पुगेको छ।’

मेहताका अनुसार कोभिड १९ को तेस्रो लहर भएकोले धरानका पनि संक्रमितहरुमा डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण भएको हो । यद्यपी, यसको पुष्टि भने जिन सिक्वेन्सी गरेपछि मात्र हुने उनले बताए । अहिले संक्रमण गर्ने दर तीब्र हुँदा चिन्ताजनक अवस्था भएपनि गम्भीर प्रकृतिको ज्यादै न्युन र मृत्यु दर पनि नभएकोले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाई छ । ‘संक्रमण सर्ने हिसाबले चिन्ताजनक हो, तर मृत्यु दर र गम्भीर प्रकृतिको ज्यादै न्युन छ । पछि मृत्यु हुन थाल्यो भने खतरा हुन्छ,’उनले भने । 

हाल संक्रमित भएकाहरुमध्ये १ जना मात्र होम आइसोलेसनमा अक्सिजन दिनुपरेको छ । अरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मेहताले बताए । कोभिडकै कारण अहिलेसम्म कसैलाई अस्पताल भर्ना गर्नु नपरेको उनले दाबी गरे । 

के गर्दैछ धरान उपमहानगरपालिका ?

कोरोना संक्रमणको तेस्रो लहर आएसँगै धरान उपमहागनरपालिकाले धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा आइसोलेसन तयार गरेको छ । उक्त आइसोलेसनमा २५ वटा बेड रहेको छ । त्यहाँ रहेका १० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । होम आइसोसनमा बस्ने अवस्था नभएका संक्रमितहरुलाई त्यहाँ राख्ने व्यवस्था छ । 

यस्तै, उपमहानगरपालिकाले सानो र ठुलो सिलिण्डरहरु पनि संकलन गर्न थालेको छ । उपमहानगरसँग जम्मा २५ वटा सिलिण्डर रहेको मेहताले बताए । ती मध्ये १० वटा सिलिण्डर भरेर स्टक राख्ने र अन्यलाई आवश्यकता अनुसार संक्रमितहरुलाई उपलब्ध गराउने पनि उनको भनाई छ । दोस्रो लहरको बेला अक्सिजनको कमीले धेरैको ज्यान गएपछि स्थानीय तह, वडा कार्यालयहरु आफैले अक्सिजन सिलिण्डर खरिद गरेको थियो ।

यस्तै, उपमहानगरपालिकाले स्वास्थ्य महाशाखा अन्तर्गतको धरानका सबै स्वास्थ्य चौकीहरुमा एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । परीक्षणको दायरा बढी भएको कारण संक्रमितहरुको संख्या बढ्दै गएको हो । अब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि समन्वय गरेर निःशुल्क पिसिआर परीक्षण गर्न पहल भइरहेको मेहताले बताए ।

यसैगरि, खोप कार्यक्रम अन्तर्गत अहिले जोन्सन जोन्सनको पहिलो डोज लगाउने कार्य भइरहेको छ । यस्तै,१२ देखि १७ बर्षका बालबालिकाहरुलाई मोर्डना खोप लगाउने तयारी पनि उपमहानगरपालिकाले गरिरहेको छ । 

गत मंसिर पहिलो हप्ता भेरोसेलको २६ हजार पहिलो डोज लगाएका हरुलाई दोस्रो डोज खोप लगाउने तयारी गरिरहेको पनि मेहताले जानकारी दिए । ‘यो साता बुस्टर डोज पनि आउदैछ, फ्रन्टलाइनरहरुलाई प्रथामिकताको आधारमा दिइनेछ,’उनले भने ।