धरान: अनलाइन अर्डरमार्फत फुड डेलिभरी गरिरहेको सप अर्डरले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा ११ दिने सप अर्डर ११.११ मेला आयोजना गर्ने भएको छ। 

यही फागुन ११ गते आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा सप अर्डरले ११ दिने ११.११ मेला गर्ने भएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनुसार ११ दिने मेलाको अवसरमा ग्राहकहरुलाई ११ प्रतिशत छुट दिइनेछ भने प्रत्येक दिन १ जनाको दरले कुल ११ जना भाग्यशाली विजेता ग्राहकलाई उपहार पनि दिइनेछ । भाग्यशाली ग्राहकलाई फुड आइटम उपहार दिइने पनि उनले बताए । 

अध्यक्ष लिम्बुका अनुसार अन्तिम दिन ११ दिनसम्म अर्डर दिने सबै ग्राहकहरुमध्ये २ जना भाग्यशाली विजेता ग्राहकहरुलाई ११ सय बराबरको फुड भौचर दिइनेछ । उनले भने,‘पहिलो दिनदेखि अन्तिम ११ औं दिनसम्म कतिजना ग्राहकहरुले अर्डर गर्नुहुन्छ, उहाँहरुमध्ये २ जना लक्की ग्राहकलाई ११ सयको फुड भौचर दिन्छौ ।’

मेला अवधिभर हरेक दिनको फुड आइटम बिशेष रहने पनि अध्यक्ष लिम्बुले जानकारी दिए । साथै, डेलिभरी शुल्कमा पनि ११ रुपैया छुट दिइने उनले बताए । मेला अवधिभर घरमा नै बसेर ग्राहकहरुलाई धरानका विभिन्न चर्चित रेष्टुरेष्टहरुको खानाको परिकारहरु अर्डर गर्न सक्नेछन् । यसको लागि सप अर्डरको बेभसाइट, इन्टाग्राम र फेसबुक पेजमार्फत अर्डर दिन सक्ने पनि अध्यक्ष लिम्बुले जानकारी दिए ।