धरान: कोरोना महामारीको कारण गत बर्ष आयोजना नभएको २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ ।
धरान फुटबल क्लबले आज (बुधबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । क्लबका अध्यक्ष किसोर राईका अनुसार प्रतियोगितामा आयोजक क्लबसहित ८ टिम सहभागी हुनेछन् ।
सम्भावित सहभागी टिमहरुबारे जानकारी दिदै उनले काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम सहभागी हुने बताए । यसैगरि, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए ।
विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ । कोरोना महामारीले गर्दा गत बर्ष प्रतियोगिता आयोजना हुन नसकेको खुलाउदै अध्यक्ष राईले यसपाली धरानबासी तथा खेलप्रेमीहरुकै बिशेष अनुरोधमा गर्न लागेको पनि उनले बताए ।