धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज) निवार्चित भएका छन् ।
नगर सम्मेलन भएको झण्डै ३ महिना पछि आज (सोमबार) भएको निर्वाचन प्रक्रियाबाट माओवादी केन्द्र धरानले अध्यक्षमा भट्टराईसहित पदाधिकारीहरु निवार्चित गरेको हो । अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी उद्धवबहादुर लिम्बुले ३० मत पाए । अध्यक्षका अर्का उम्मेदवार सिपी बजगाईले मात्र २ मत पाए । कुल ७५ मत खसेकोमा ७१ मत मात्र सदर भएको थियो । चार मत वदर भएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरले जानकारी दिए ।
यस्तै, खुला उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी भए भने ३२ मत पाउदै सम्फर तामाङ पनि विजयी भएका छन् । उपाध्यक्षमा पराजित अन्य दुई उम्मेदवार दिलकुमार श्रेङले २४ मत र विष्णु पुमा राईले १६ मत मात्र पाए । सचिव पदको लागि भएको निर्वाचनमा विदुर महतले ३६ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी चेतना श्रेङले ३० मत मात्र पाइन् ।
महिला उपाध्यक्षमा मनिता जाइका राई, सहसचिवमा खेम रनपहेली र कोषाध्यक्ष लिलाबहादुर प्रधान निर्विरोध निवार्चित भएका थिए । नवनिवार्चित पदाधिकारीहरुलाई केन्द्रीय सदस्य किरण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । माओवादी केन्द्रको नगर सम्मेलन गत पुष ९ गते धरान १५ स्थित होटल इजी राइडरमा भएको थियो । उक्त सम्मेलनले ८१ सदस्यीय नगर कमिटी चयन गरेपनि पदाधिकारीहरु भने चयन भएको थिएन । आज बिहान पुर्ण बैठक बसेर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि सफल नभएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको हो ।