धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ्च पनि कालोपत्रे पक्की सडक निर्माण भएको छैन ।
साविक विष्णुपादुका गाविस २०७० सालमा धरानमा गाभिए पछि उपमहानगरपालिका बनेको थियो । विष्णुपादुकाबासीहरु एकैचोटी उपमहानगरबासी भएका थिए । साविक विष्णुपादका गाविस सिंगै अहिले धरानको वडा नं २० भएको छ । साविक विष्णुपादुका कृषि तथा पर्यटन क्षेत्र हो । विष्णुपादुका जस्तो पौराणिम महत्व बोकेको मन्दिर पनि यही भएकोले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ पनि हो ।
गाउँबाट धरान सहरबासी भएपछि साविक विष्णुपादकाबासीहरुले पक्की सडक बन्ने बषौंदेखिको सपना पुरा हुने आशा गरेका थिए । तर, सहरबासी भएको ८ बर्ष बित्दा पनि उनीहरुको सपना पुरा भएको छैन । धरानको भौतिक विकास साविक धरान अर्थात सहर केन्द्रीत मात्र भएको गुनासो ग्रामिण क्षेत्रका जनताको छ ।
हरेक निर्वाचनमा उम्मेदवारहरुले विष्णुपादुकामा पक्की सडक निर्माणको कुरा गर्छन् । चुनाव जितेपछि प्रतिवद्धता बिर्सन्छन् । पुर्वशिक्षक एवं धरान वडा २०, भञ्याङ निवासी ओम सुच्च राई कालोपत्रे सडक बने आवतजावत गर्न मात्र होइन, कृषिजन्य उत्पादन ढुवानी गर्न स्थानीयलाई सहज हुने बताउँछन् । ‘यहाँको मुख्य पेशा नै कृषि हो, कृषि उत्पादन धरान बजार लैजान सजिला हुन्थ्यो । विरामीलाई वीपी प्रतिष्ठानमा उपचारको लागि लैजान, केटाकेटी धरान पढ्न झर्न, किनमेल गर्न सजिलो हुन्थ्यो,’उनी भन्छन्,‘बर्षामा यो बाटो हिलोले हिड्र्नै सकिदैन, अरुबेला धुलोले हैरान बनाउछ ।’ संसदीय निर्वाचन, स्थानीय निर्वाचन र गएको उपनिर्वाचनमा पनि कालोपत्रे सडकको माग स्थानीयले राजनीतिक दलका उम्मेदवार, नेताहरुसँग गरे पनि पुरा नभएको उनले बताए ।
विष्णुपादुकाबासीहरुको अर्को प्रमुख माग छ, कृषि बजार । कृषि बजार आफ्नै वडामा निर्माण भए कृषकहरुले फाइदा पाउथे । अहिले कृषि उत्पादन धरान ११ को मंगलबारे चोक वा धरान १३ को कृषि उपज बजारस्थलमा पुर्याउनुपर्छ । जसले गर्दा कृषकलाई भन्दा विचौलियालाई बढी फाइदा पुग्ने राई बताउँछन् । ‘यहाँ कृषि बजारको अभाव छ, हाम्रै ठाउँमा कृषि बजार भए कृषकहरुले फाइदा पाउँथे, यो माग पनि बषौंदेखिको पुरा भएकै छैन,’उनले थपे,‘विष्णुपादुका धरानको पर्यटन क्षेत्र भनेर घोषणामै सिमित भयो ।’
वडा नं २० का अध्यक्ष मणिराम राई नगर गौरवको योजना आफ्नो वडा कहिल्यै पनि पर्न नसकेको गुनासो गर्छन् । स्वर्गीय मेयर तारा सुब्बा, कार्यवाह मेयर मञ्जु भण्डारी र वर्तमान मेयर तिलक राईलाई गुहार्दा पनि नगर गौरवको योजना आफ्नो वडामा नपरेको उनले बताए । ‘नगरको नेतृत्व ३ खालको पायौ, सबैलाई गुहार्ने काम गरे, तर नगर गौरवको योजनाको बजेट हाम्रो वडामा परेन,’उनले भने,‘भौतिक पुर्वाधार विकास सन्तोषजनक छैन । सिमित स्रोत, साधन भएको वडाको बजेटबाट ठुलो योजनाहरु पुरा गर्न सम्भव भएन ।’
भञ्याङ निस्कने बाटो कालोपत्रे गर्न ३ बर्षअघि नै प्रदेश सरकारको बजेटबाट टेण्डर भएपनि कोरोनाको वहानामा काम हुन सकेन । यसपाली पनि थोरै रकममा ठेक्का लागेको तर काम शुरु नभएको उनले बताए । भञ्याङ निस्कने बाटोमा पर्ने सर्दु खोलामा पुल निर्माण भएकोले बर्षामा आवतजावत गर्न भने केही सहज हुने वडाअध्यक्ष राईले बताए ।
वडालाई पर्यटन तथा कृषि क्षेत्र भनेर घोषणा गरिए पनि उपलब्धी हासिल नभएको वडाअध्यक्ष राईको स्वीकारोक्ति छ । वडामा विष्णुपादुका धार्मिकस्थल, सिद्ध पोखरी, कन्या डाँडा, सुलिकोट, झण्डी डाँडा, चिण्डे डाँडा, भ्यु टावरलगायत पर्यटकीय केन्द्रहरु भएपनि एकीकृत विकास गर्न र लगानी भित्र्याउन नसकिएको उनले बताए । ‘परम्परागत कृषि प्रणाली भएकोले उपलब्धी धेरै भएन, पर्यटन विकासको एकीकृत योजना र लगानी भित्रिएन, विकास भयो भनेर भन्ने अवस्था छैन,’ वडाअध्यक्ष राईले भने ।