धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा तालमेल गर्न धरानमा सत्तारुढ गठबन्धन दलको बैठक सकरात्मक दिशामा अघि बढेको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठक अहिले लञ्च ब्रेक भएको छ । खाना पछि बैठक पुनः शुरु हुने र बेलुकासम्म छिनोफानो यो भने पत्रकार सम्मेलन गर्ने तयारी गठबन्धन दलहरुको छ । नेपाली कांग्रेसका सभापति श्याम पोखरेलका अनुसार बैठकमा सकरात्मकरुपमा छलफल भएको र आजै छिनोफानो हुनेछ । उनले भने,‘बिहान ८ बजेदेखि भएको छलफल सकरात्मक छ । अहिले लञ्च ब्रेक भएको छ । हामी आजै छिनोफानो भयो भने पत्रकार सम्मेलन गछौ ।’
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरु सहभागी छन् । राष्ट्रिय जनमोर्चाका नेताहरु भने सम्पर्कमा नआएकोले बैठकमा छैनन् । चार दलबीचमा सहमति भएपछि पुनः संघीय लिम्बुवान मञ्च र राप्रपासँग पनि बैठक हुने पोखरेलले बताए । ‘लिम्बुवानसँग प्रदेश सरकारमा सहकार्य छ, त्यसैले लिम्बुवान र राप्रपासँग पनि छलफलमा बस्छौ । यहाँ ६ दलबीच गठबन्धन हुने सम्भावना छ,’उनले भने ।
जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुब लिम्बुले गठबन्धन बैठक सहमति नजिक पुगेको बताए । उनका अनुसार केन्द्रको मापदण्ड अनुसार धरानमा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने लगभग निश्चित छ । तथापी, माओवादी नेताहरुले केन्द्रमा निर्णय होस् भन्ने चाहेका छन् । केन्द्रमा पनि आजै गठबन्धनको बैठक भइरहेको छ, र कुन पालिका कस्ले पाउने भन्ने निर्णय हुदैछ । ‘माओवादीका साथीहरुले केन्द्रमा फाइनल होस् भन्ने कुरा गर्नुभएको छ, हामीले मेयर, उपेयर र वडाहरु यही सकौं भनेका छौ,’लिम्बुले भने,‘यहाँको स्पिरिट मेयर कांग्रेस, उपमेयर माओवादी भनेर छलफल भइरहेको छ । आज परिणाम ल्याउने गरि नै बसेका छौ ।’