बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता शुरु भइसकेको छ । धरानमा पनि विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ ।  

यसैक्रममा आइतबार धरानको मेयर पदमा सामाजिक अभियन्ता हर्क साम्पाङ राईले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । खानेपानीलाई प्रमुख एजेण्डाकोरुपमा अघि सारेका राईसँग उम्मेदवारी दर्ता लगत्तै क्लिकधरानले गरेको अन्तरवार्ताको सार प्रस्तुत गरिएको छ:

प्रश्न: तपाईले कुन पदमा उम्मेदवारी दिनुभयो ?

उत्तर: म नगर प्रमुख (मेयर)को पदमा स्वतन्त्र उम्मेदवारी दिएको छुँ । 


प्रश्न: प्रमुख तपाईको उम्मेद्वारी किन ?

उत्तर: धरानको सुशासन, विकासको लागि हो । धरान सुशासन र विकासको दौडमा धेरै पछि पर्यो भन्ने मेरो बुझाई छ । त्यसो भएको कारणले गर्दा मैले आउनु परेको हो । 


प्रश्न: तपाईको चुनावी एजेण्डा के छन् ? के एजेण्डा लिएर जनतामाझ जादै हुनुहुन्छ?

उत्तर: म स्मार्ट सिटी बनाउँछु भनेर चै गफ लाउँदिन । नम्बर एक, म धराने जनतलाई पानी खुवाउँछु । दोस्रो, स्वास्थ्य शिक्षाको कुरा छ । अस्पताल वेहालको स्थितिमा छ, सुधार ल्याउछुँ । आफ्नो क्षेत्राधिकार पर्ने सबै काम गर्नेछुँ, वीपी अस्पताल सुधार गर्नको लागि । 


प्रश्न: तपाईले भनेको यो कुरा त अन्य दलहरुले पनि भनिरहेकै छन् नि ?

उत्तर: उहाँहरुले खै ! गर्नुभएको जस्तो लागेन । चुनाबको बेला मात्र भन्नुहुन्छ । हाम्रो लागि नै चुनाव आउनु पर्दैन । हामी चै गछौं भन्ने विश्वास जनतालाई छ । खानेपानी प्रोजेक्टको हालत के भएको छ ? उहाँहरुले नै गर्नुभएको हो, २ अर्ब पैसा सकिसक्यो । स्थिति खत्तम छ । त्यसैले दलहरुले गर्दैनन् भन्ने कुरा टेष्ट भइसकेको छ । अब दल बाहिरको मान्छे, जो सफा छ, त्यस्तो नेतृत्वमा आउछ । 


harka-sangpang-pic

प्रश्न: तपाई एक्लैले मात्र उम्मेद्वारी दिनुहुन्छ कि टिम नै छ ?

उत्तर: म एक्लै छैन । स्वतन्त्र समाजको अभियान छ । हामीले खबरदारी मात्र, आन्दोलन मात्र गर्दे आयौ । कति बर्षसम्म संघर्ष गरिरहने ? पानीको आन्दोलन गरेको १० बर्ष भयो । २०, २५ बर्षसम्म आन्दोलन मात्र गरेर हुदैन । त्यसैले हामी आफै त्यहाँ भित्र बसेर धरानेलाई पानी खुवाउँछौ । 


प्रश्न: तपाईहरुको जित्ने आधार छ त ?

उत्तर: छ, यसपाली पार्टी भन्ने कुरा मान्छेले वाक्क, दिक्क लागेर पटक पटक कति हेर्ने भनेर स्वतन्त्रलाई हेर्ने कुरा छ । धरानमा पार्टीका नेता, कार्यकर्ताबाहेक जति मतादता छन्, मतदातामध्ये ९० प्रतिशतले हर्क साम्पाङ भन्छन् । त्यसैले जित्छौ । 


प्रश्न: तपाईले आफ्नो एजेण्ड खानेपानी र स्वास्थ्यमा मात्र जोड दिनुभयो, अरु एजेण्डाहरु छैन ? 

उत्तर: अरु पनि थुप्रै छन् । भनेर साध्य छैन । धरानलाई रोजगारीको केन्द्र बनाउनुपर्छ । धरानले कहिल्यै पनि केही बेचेन । अब धरानलाई उत्पादक बनाउनुपर्छ । म त्यहाँ पुगेभने धरानलाई उत्पादक बनाउछुँ । फ्रयाक्टीहरु बनाउँछौ हामी । दीर्घकालिन सोचबिचार राखेर काम गछौं । के कति मेरो कार्यकालमा सकिन्छ, धरानलाई उत्पादक पनि बनाउँछु । धरानले बाहिर केही बेच्नुपर्छ । सबै आयात मात्र गरेर खाने गरेकोले हामी उपभोक्ताको सहर, पिकनिक स्पट जस्तो मात्र देखियो । 

अर्को कुरा, युवाहरु दुरुपयोग भएको छ । म सही बाटोमा ल्याउँछु । अरु राजनीतिक दलहरु जस्तो राजनीतिक गुण्डागर्दीमा लगाउँदिन । एक हातमा हतियार दिने, अर्को हातमा पैसा दिएर धरानमा अशान्ति मच्चिएको छ । युवाहरु दुरुपयोग भएको छ । यसले गर्दा युवाको हात हातमा सीप हुन्छ । बौद्धिक र शैक्षिक योग्यता अनुसार सीप हुन्छ । कोही कार्पेन्टर गर्छन्, कोही प्लम्गिङ गर्छन्, कोही इलेक्ट्रिकल गर्छन्, कोही मेकानिलक गर्छन् । के के काम हो ? प्रत्येक युवाको हातमा सीप हुन्छ । सीप भएपछि बल्ल उसले रोजगारी खोज्छ । अहिले त केही गर्न आउदैन, अनि के पाउँछ ? 

त्यसले गर्दा पहिला युवाहरुलाई सीप दिनुपर्छ । हामीले रोजगारीको पहल गर्नुपर्छ । नगरपालिकाको स्रोत, साधान, समय र अधिकार यही ४ कुरा ध्यान राख्नुपर्छ । सबै थोक गर्छु भनेर प्रधानमन्त्रीले गर्ने काम गर्छु भनेर गफ लगाएर त भएन मैले । स्रोत साधन, समय र अधिकारको सिमाभित्र रहेर हामी युवाहरुलाई रोजगारी दिने काम गर्छाै । त्यति गरिसके पछि यो राजनीतिक दुरुपयोग भएका युवाहरु हुदैन । युवा शक्तिलाई यसरी सदुपयोग गर्यौ भने मात्र सहर बन्छ, देश पनि बन्ने अवधारणा यही हो ।

harka-sangpang


प्रश्न: तपाईको जुन अवधारणा छ, योजना छ, तपाई एक्लैले जितेर त सम्भव हुदैन ? कार्यपालिका बोर्ड हुन्छ । 

उत्तर: त्यही भएर त हाम्रो उम्मेदवारी वडामा पनि हुदैछ । वडाका अध्यक्षहरुलाई पनि जिताईदिन मतदाताहरुलाई अनुरोध गर्न चाहन्छँु । कथंकदाचित मै मात्र जितेर गए भने पनि त्यहाँ हामी कुस्ती पर्न जाने होइन । एमालेको वडाअध्यक्षसँग फाइट पर्न जाने होइन । त्यहाँ माओवादीको आउला, कांग्रेसको आउला । ती दलका मान्छेहरुलाई पनि साथमा लिएर म सँगै अघि बढ्छुँ । 

परिवारै पनि त फरक छ । तर अर्को परिवारको भन्दैमा झगडा गर्न मिल्यो ? त्यसले गर्दा स्वास्थ्य प्रतिस्पर्धा गरौ, जसलाई जनताले अनुमोदन गर्छ, ती मान्छेहरु आउने हुन् । सबै मिलेर धरानेलाई सबैभन्दा पहिला पानी खुवाउनुपर्छ, वीपी अस्पताल सुधार गर्नुपर्छ । 

मेरो एजेण्डा प्राप्त गर्न उहाँहरुलाई विश्वासमा लिने हो, मैले कन्भिन्स गर्ने हो । यी सबै मान्छेहरुलाई म एकठाउँमा लगेर अघि बढ्न सक्ने क्षमता छ । 


प्रश्न: चुनावी अभियान केही समय अघिदेखि नै गरिरहनु भएकै छ । प्रायः मतदाता, जनता कुनै न कुनै पार्टीतिर छ भन्ने बुझाई छ, तपाईले कस्तो पाउनु भयो ?

उत्तर: मतदाताको संख्या १ लाख ३ हजार हाराहारी छ । यसपाली मेरो विचारमा ७५ हजार, ८० हजारको आसपासमा भोट खस्छ । ती भोटमध्ये नेता, कार्यकर्ताको सबै गरेर २० हजार मात्र । बाँकीको सबै मतदाता ८५ देखि ९० प्रतिशत मान्छेलाई हर्क साम्पाङको काम मनपर्छ, हर्क साम्पाङलाई जिताउछौं, भन्ने सल्लाह छ, हल्ला छ । त्यसले गर्दा हामी सियोर जित्छौ भन्ने छ । 


harka-sangpang1 1

प्रश्न: तपाईको प्रमुख एजेण्डा खानेपानी छ । अहिले धरानको आइयुडिपी प्राजेक्ट फेल भयो भन्नुहुन्छ, जितेर मेयर भएपछि त्यो आयोजना रोक्नुहुन्छ कि, मर्मतसम्भार गरेर अघि बढाउनुहुन्छ कि वा नयाँ प्राजेक्ट ल्याउनुहुन्छ ?

उत्तर: यो आयोजना त फेल भइसक्यो । नत्र पानी खुवाउनुपर्ने हो त । म त्यो आयोजनाको छानबिन गर्छु, के कारणले फेल भयो भनेर । धराने जनतालाई लेखा परीक्षण गरेर हिसाब देखाइएको छैन । सबै कुरा हुन्छ । जहिलेदेखि शुरु भयो, त्यहाँदेखिको सबै मान्छेलाई ल्याएर छानबिन गर्छु, के कारणले फेल भयो ? त्यो पत्ता लगाउनुपर्छ । 

त्यसपछि त्यो योजना फेल भयो भनेर कराईराखेर मात्र त भएन । त्यसले गर्दा हामी भित्रै गएर काम गर्ने आकांक्षाका साथ आएका छौ । त्यसपछि अर्को प्राजेक्टमा जान्छौ, सप्तकोशीबाट पानी ल्याउछौ । 


प्रश्न: कोशीबाट पानी ल्याउन सम्भव छ ?

उत्तर: सम्भव छ । धरानेले चाह्यो भने के सम्भव छैन ? 


प्रश्न: त्यसको लागि त ठुलो बजेट चाहिन्छ नि ?

उत्तर: त्यसको लागि एक अर्ब जति चाहिन्छ । पहिला अध्ययन गर्दा ८५ करोड भन्थे । त्यो राज्यले खुवाउनुपर्छ । हामीले दाबाब दिइरहेकै छ । आज मात्र होइन, ३ बर्ष भयो मुख्यमन्त्रीदेखि हरेक मान्छेलाई भन्दै आएको । लड्न सक्दैनौ, तर त्यो पनि गर्छाै । म त ५ बर्षको लागि जाने हो । राज्यले मेरो कार्यकालभित्र गर्न चाहेन भने धराने जनता आफैले लगानी गरेर ल्याउनुपर्छ ।

धरान लाहुरेहरुले बनाएको सहर पनि हो, पानी जस्तो आधारभुत आवश्यकतामा विश्वव्यापी सहयोग मिल्छ । हामी ऋण चै ल्याउदैनौ, डोनेसन उठाएर हुन्छ, धरानले जनताले लगानी गरेर, सेयर आह्वान गरेर हुन्छ, जसरी हुन्छ पानी खुवाउछौ । मैले जितेर पानी खुवाइन भने म धरान बस्दिनँ । मेरो नैतिक आधार रहदैन, आइ विल क्विट । धरानको मेयर बनेर पानी खुवाउन सकिनँ भने धरान किन बस्नु त म ?


प्रश्न: तपाईको घोषणा पत्र, योजनाहरु कहिले सार्वजनिक गर्नुहुन्छ ?

उत्तर: घोषणा पत्र कति लेख्नु ? कसैले सुन्दैन, पढ्दैन रहेछ । तर, थोरै लेख्छु, सानो हुन्छ । सांकेतिकरुपमा हुन्छ । किताब बनाएर कस्ले पढ्छ ?


प्रश्न: यसपाली तपाई जित हुनेमा ढुक्का हुनुहुन्छ ?

उत्तर: म त ढुक्क छुँ । म जतिको 'कन्फिडेन्ट' त कोही पनि छैन ।