धरान: उम्मेद्वारी छनौटमा असन्तुष्ट भई पार्टी निर्णयविपरीत धरानको वडा नं ८ को अध्यक्ष र वडा सदस्यमा वागी उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारले कांग्रेस उम्मेद्वारलाई सहयोग गर्ने भएका छन् ।
वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका नन्दराज राई र वडा सदस्यका उम्मेद्वार खड्कबहादुर पौडेलले एक प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको उम्मेद्वारी फिर्ता रहने जनाएका छन् । उनीहरुले अब आफ्नो लागि भोट नमाग्ने र पार्टीका उम्मेद्वारलाई जिताउन इमान्दारपुर्वक लागिपर्ने पनि बताएका छन् ।
वडाअध्यक्षका उम्मेद्वार राई कांग्रेसको नेपाल आदिबासी जनजाती संघ प्रदेश नं १ का संयोजक पनि हुन् भने पौडेल कांग्रेस धरानको पुर्वनगर सदस्य तथा क्षेत्रीय प्रतिनिधि पनि हुन् । कांग्रेस सुनसरी १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र तामाङले उम्मेद्वारी फिर्ता लिन सम्भव नभएपनि दुवैले आफ्नो लागि भोट नमाग्ने र पार्टीको आधिकारिक उम्मेद्वारलाई नै जिताउन हिड्ने बताए ।