धरान: धरान उपमहानगरपालिका वडा नंं. २० लाई कृषि पकेट क्षेत्रकोरुपमा विकास गर्ने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । 

धरान २० मा चुनावी प्रचार अभियानको क्रममा पुगेका गठबन्धनका उम्मेदवारहरूले मतदाताहरु समक्ष यस्तो प्रतिवद्धता जनाएका हुन् । मेयरका उम्मेद्वार किशोर राईले विष्णुपादुकामा बेसारको जोनको रूपमा विकास गर्ने योजना सहीरुपमा कार्यान्वयन नभएको भन्दै गठबन्धनको जित पछि पुरा गर्ने बताए । विष्णुपादुकाको धार्मिक पौराणिक महत्व रहेको उल्लेख गर्दै राईले कृषि उत्पादनको बजारीकरणसँगै कृषिमा आधुनिकीकरण गर्न पनि पहलकदमी लिने बताए । यस क्षेत्रको बेसार, अदुवा प्रचुर मात्रा नेपाल लगायत भारतका विभिन्न स्थानसम्म पुग्ने भए पनि कृषकहरुले उचित मुल्य नपाएको गुनासो आउने गरेको भन्दै मेयर उम्मेद्वार राईले कृषि जोन बनाएर ठोस योजना लागु गर्ने पनि बताए । 

उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले धरान २० विष्णुपादुका कृषि पकेट क्षेत्र मात्र नभै धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्यको पनि प्रचुर सम्भावना बोकेको ठाउँ भएको बताए । विष्णुपादुका मन्दिरको महिमा सुनेर भारतबाट समेत पितृको सम्झनामा श्राद्ध गर्न आउनेको भीड लाग्ने उनले बताए । यस्तै, ब्रिटिस लाहुरेहरूले आफ्नो पहिचान र इतिहासलाई जीवन्त बनाउन माछामारामा पूर्व ब्रिटिस सैनिकहरूले गोरखा स्मृति पार्कको निर्माण गरिरहेको र यसले विष्णुपादुको विकासमा महत्वपुर्ण सहयोग पुग्ने उनले बताए । यहाँको सडक, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै कृषि जोन बनाएर विकासलाई प्राथमिकता दिने पनि बेघाले बताए ।