धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न गठित कार्यदलमा ४ जना सदस्य थपिएको छ ।

कार्यदलमा आन्दोलनरत सेभ घोपा अभियान र प्रतिष्ठानको तर्फबाट २, २ जना सदस्य थपिएको हो । सेभ घोपाबाट कार्यदलमा सुदन गुरुङ र सृष्टि श्रेष्ठ थपिएका छन् भने प्रतिष्ठानकोतर्फबाट सहायक अस्पताल निर्देशक डा.इन्द्र लिम्बु र सामान्य प्रशासनबाट कमल रायमाझी थपिएका छन् । चार जना सदस्य थपिएसँगै कार्यदल ९ सदस्यीय भएको छ । 

यसअघि सोमबार आन्दोलनको ५६ औं दिनमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित भएको वार्ताले समस्या पहिचान र समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । सहमति वमोजिम गठित कार्यदलमा प्रतिष्ठानकोतर्फबाट डा.इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा.दिव्यराज मिश्र र अस्पताल प्रशासनका सुपरभाइजर अशोककुमार साह रहेका थिए । सेभ घोपा क्याम्पकोतर्फ नविन राई र स्पेन मगर कार्यदलको सदस्य थिए भने मेयरको प्रतिनिधिकोरुपमा पुर्ण गहतराज रहेका थिए ।

कार्यदललाई थप प्रभावकारी बनाउन र तत्काल गर्नुपर्ने सुधारको कार्यलाई पदाधिकारीहरुसँग समन्वय तथा कार्यान्वयनको पहल गर्न सदस्यहरु थप गरिएको हो । कार्यदलले तत्काल अस्पताल सेवामा गर्न सकिने सुधार कार्यहरु १५ दिनभित्र गर्ने र बाँकी कार्यहरुको सम्बन्धमा विभिन्न विभाग, शाखाहरुसँग आवश्यक छलफल एवं परामर्श गरी कार्यान्वयनको लागि सिफारिश सहितको प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ। 

के गर्दैछ कार्यदलले ?

save-ghopa

सोमबारको वार्ता कार्यदल गठन गर्ने सहमतिमा टुंगिएपछि मंगलबार प्रतिष्ठानका उपकुलपतिले ५ सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका थिए । गठित कार्यदलका सदस्यहरु ३ पटक छलफलमा बसिसकेका छन् । 

उनीहरुले सेभ घोपा अभियानको मागहरुबारे बुँदागतरुपमा छलफल गरेर अधिकांशमा निचोडामा पुगिसकेका छन् । तत्काल गर्न सकिने कार्यहरु, मध्यकालिन कार्यहरु र दीर्घकालिनरुपमा गर्ने कार्यहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयनको लागि सिफारिश गरिने सेभ घोपाका प्रमुख अभियन्ता सुदन गुरुङले बताए ।

उनले भने,‘कसरी के के सुधार गर्ने भनेर निचोडमा आइसकेका छौ । हरेक बुँदालाई सम्बोधन गर्ने गरि तत्काल गर्ने, मध्यकालिन र दीर्घकालिनरुपमा कसरी समाधान गर्ने भनेर प्रभावकारीरुपमा छलफल भइरहेको छ । तत्काल गर्न सकिने बिषयमा उपकुलपतिबाट आइतबारदेखि कार्यान्वयनमा जान्छ भनेर आशावादी छौ ।’

प्रतिष्ठानकातर्फबाट कार्यदलका सदस्य डा.दिव्यराज मिश्रले पनि एक साताभित्र टुंगो लगाएर सिफारिश गर्ने गरि गृहकार्य भइरहेको बताए । ‘तत्काल सुधार गर्न सकिने कामहरुलाई कार्यकारी तहबाट कार्यान्वयनमा लैजाने भन्ने छ, र त्यो प्रक्रिया पनि शुरु भइसकेको छ,’डा.मिश्रले भने,‘कतिपय कुराहरुको लागि समय लाग्छ । उहाँहरुको टिम र हाम्रो टिमले तत्काल गर्न सकिने कुराहरुको ब्रिफिङ भइसकेको छ, र पहलदकमी भइसकेको छ ।’