धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको मतगणना शुरु भएको छ । 

सबैभन्दा थोरै मतदाता भएको वस्तुगत तर्फको मतगणनाको नतिजासमेत सार्वजनिक भइसकेको छ । वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बुले १० मत ल्याएर विजयी भइसकेका छन् । विजयी भएका लिम्बु अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भने शर्मा अर्का प्रत्यासी विजय श्रेष्ठ प्यानलका हुन् । 

दुई जनाको सदस्य कोटामा ४ जनाको उम्मेद्वारी परेको थियो । पराजित भएका उम्मेद्वार शिवराज श्रेष्ठ प्यानलका अनिल ताम्राकारले ६ मत पाए भने विजय श्रेष्ठ प्यानलका पराजित उम्मेद्वार नविन कुमार तामाङले ९ मत पाए । वस्तुगत तर्फ १८ मतदाता थिए । 

हिजो भएको मतदानमा वस्तुगततर्फ मतदाता भन्दा एक मत बढी १९ मत खसेको थियो । त्यसबारेमा आज बिहान बैठक बसेर खसेको मतबाट एक मत छानेर नष्ट गर्ने र मतगणना शुरु गर्ने उम्मेद्वारहरुसहित बसेर सहमति गरिएको थियो । सोही सहमति अनुसार अघि बढेको र मतगणनाको नतिजासमेत आइसकेको निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार अहिले उद्योगतर्फको सदस्यहरुको मतगणना शुरु भएको छ ।