धरान: मेयर हर्क साम्पाङले सर्दु खोलाबाट प्रोटोटाइपको मिनि हाइड्रोपावर शुरु गर्ने योजना अघि सार्दा धेरैले पत्याएका थिएनन् । उनका आलोचकहरुले त झन् पत्याउने कुरै भएन ।

मेयर साम्पाङको योजनाले कसैलाई उत्साहित बनाएको थियो भने ती हुन्, धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका शिक्षक र इञ्जिनियरीङ अध्ययनरत विद्यार्थीहरु । मेयर साम्पाङले त्यहाँका सिभिल, इलोक्ट्रिकल र मेकानिकल विभागीय प्रमुखहरुलाई सर्दु खर्दु खोला स्थलगत अध्ययन गर्न मात्र लगेनन्, सिभिल चौथो बर्षका विद्यार्थीहरुमार्फत सर्वेसमेत गराए । 

hydro1

अहिले प्रोटोटाइप निर्माणको काम अन्तिम चरणमा भइरहेको छ । यही बिहिबार प्रोटोटाइपको उद्घाटन गर्ने तयारी भइरहेको प्रोजेक्टको जिम्मेवारी पाएका तर्कबहादुर मगरले जानकारी दिए । प्रोटोटाइप निर्माण सम्पन्न नहुदै अहिले इञ्जिनियरीङका विद्यार्थीहरुको अध्ययन (फिल्ड भिजिट) गर्ने थलो बनेको छ । आज (आइतबार) पुर्वाञ्चल क्याम्पसका सिभिल तेस्रो बर्षका विद्यार्थीहरु प्रोटोटाइप अध्ययन गर्न सर्दु मुहान क्षेत्र पुगेका थिए । 

hydro2

सिभिल विभागीय प्रमुख प्रभात देवसँगै पुगेका विद्यार्थीहरुले पावरहाउस, इन्टेक, मुहानलगायत क्षेत्रको स्थलगत अध्ययन गरे । शिक्षक देवले विद्यार्थीहरुलाई धेरै फाइदा पुगेको बताए । ‘विद्यार्थीहरुको लागि वरदान नै हो । विजुली धेरै उत्पादन हुदैन भन्ने थाह छ, तर केही गर्न खोजेका छौं,’ विभागीय प्रमुख देवले भने,‘विद्यार्थीलाई आत्मविश्वास जगाउछ । अहिले नै फिल्डमा आएर हेर्दा कस्तो हुनुपर्छ भन्ने सोच बन्छ, र पछि काम गर्न सजिलो हुन्छ । यो त वरदान नै भएको छ ।’ 

फिल्ड भिजिटमा आएका विद्यार्थी कुशल सुवेदीले किताबमा पढेको कुरा फिल्डमा आएर प्रत्यक्ष हेर्दा धेरै फाइदा पुग्ने बताए । ‘एक बर्ष पढेको कुरा फिल्डमा आएर हेर्दा एकैछिनमा सबै याद आउने रहेछ, हामीलाई धेरै फाइदा छ,’उनले भने ।

भिडियो: