धरान: मेयर हर्क साम्पाङको खानेपानी अभियानको लागि युकेबाट फेरि लाखौंको सहयोग आएको छ । 

उक्त सहयोग हिजो (आइतबार) मेयर साम्पाङको उपस्थितिमा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । युकेबाट भूपू ब्रिटिश आर्मी बलबहादुर दुमी राई र नरशोभा चाम्लिङ राईले २ लाख १८ हजारको पाइप सहयोग गरेका हुन् । उनीहरुको छोरा बुहारीले पाइप हस्तान्तरण गरेका थिए ।

यस्तै, अमरबहादुर मुदेनछाङ साँवाले स्वर्गीय श्रीमति पुर्णमाया वनेमको नाममा १ लाख ५ हजारको पाइप हस्तान्तरण गरेका छन् भने सुनुवार परिवार युकेबाट पनि १ लाख २० हजार ८ सय ६४ रुपैयाको पाइप सहयोग आएको छ । 

donation1

यसैगरि, ब्रिटिश आर्मीमा सन् १९६१ मा भर्ती भएकाहरु चिताहाङ आङ्बुङ्गे र परिवार, लालबहादुर राई र परिवार, धनबहादुर राई र परिवार, डगमणि राई र परिवार, राजमान सिंह राई र परिवार, छत्रबहादुर जवेगु र परिवार, साहीबहादुर राई परिवार, सुरेन्द्र राई परिवार र सप्तमान राई परिवारले कुल २ लाख ९० हजार ७०१ रुपैया बराबरको पाइप सहयोग गरेको प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार आइतबार मात्र ७ लाख ३४ हजार १ सय २ रुपैया बराबरको पाइप सहयोग भएको छ ।

donation2

मेयर राईले दाताहरुप्रति आभार व्यक्त गर्दै नगरपालिकाको एकरुपैया खर्च नगरी खानेपानीको काम भइरहेको बताए । पारदर्शीताको साथ काम गर्दा विश्वास गरेर सहयोग आइरहेको भन्दै मेयर साम्पाङले २ लाख लिटर भन्दा बढी क्षमताको टंकी पनि दाताबाट नै निर्माण हुन लागेको जानकारी दिए । नगरपालिकासँग रुष्ट भएर विकाससँग टाढा रहेका भूपू सैनिकहरुलाई विकासमा जोड्ने काम आफुले गरिरहेको र सहयोग पनि पाइरहेको उनले बताए । 

कुल ३२ लाख बढी सहयोग

मेयर साम्पाङको खानेपानी अभियानको लागि देशविदेशबाट गरि हालसम्म ३२ लाख बढीको पाइप सहयोग भइसकेको छ । खानेपानी व्यवस्थापन बोर्डका स्टोरकिपर गंगाराम भट्टराईका अनुसार हालसम्म कुल ३२ लाख १३ हजार ४ सय ५५ बराबरको पाइप दाताहरुबाट हस्तान्तरण भइसकेको छ । ती पाइपहरु २ इञ्ची, ३ इञ्ची, १० इञ्ची, १२ इञ्ची रहेको पनि उनले बताए । 

भिडियो: