धरान: धरानको चर्चित फुटबल प्रतियोगिता अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको छ । 

गोधुली क्लबको आयोजनामा पुष ३० गतेदखि माघ १४ गतेसम्म प्रतियोगिता हुने तयारी भएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अनुसार २० वटै वडा कार्यालयहरुमा सहभागिताको लागी पत्राचार भइसकेको छ । प्रतियोगितामा धरानका वडा कार्यालयहरुले स्थानीय (वडा स्थायी बासिन्दा) भएका खेलाडीहरु सम्मिलित टिम तयार गरेर सहभागिता जनाउने गरेको छ । 

गत सँस्करणमा वडा नं ७ बाहेकका १९ वटा टिमले सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा वडा नं १६ विजेता भएको थियो भने वडा नं १३ उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १ लाख ५० हजार पाउनेछ भने उपविजेताले नगद ७५ हजार हात पार्नेछ । यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १५ हजार र ट्रफी, हाइ स्कोररले नगद ७ हजार ५ सय र ट्रफी पाउनेछन् । यसैगरि वेष्ट डिफेन्स, वेष्ट स्ट्राइकर, वेष्ट गोलकिपर, वेष्ट मिडफिल्ड, वेष्ट कोचले पनि जनही नगद ५ हजार ५ सय पाउने उपाध्यक्ष केसीले जानकारी दिए । 

गत बर्ष गोधुली कपका क्वार्टरफाइनल पुग्न सफल ८ टिमलाई समावेश गरेर उपमहानगरपालिकाले सुपर ८ प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितालाई सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता नाम दिइएको छ । यसपाली पनि बजेट विनियोजन गरिएको र प्रतियोगिता आयोजना हुनेमा आशावादी रहेको क्लब उपाध्यक्ष केसीले जानकारी दिए । सुवास राई कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समितिका संयोजक थिए । वडा नं १७ मा २ पटक वडाअध्यक्ष भएका राई धरान फुटबल क्लबको पनि अध्यक्ष भएका थिए । खेलकुदमा दिएको योगदानको कदर गर्दै उनको स्मृतिमा सुपर ८ प्रतियोगिता शुरुवात गरिएको थियो ।

गोधुली रनिङ कप भने बुढासुब्बा गोल्डकप भन्दा पुरानो हो । तर, विभिन्न कारणले बीचमा प्रतियोगिता हुन सकेको थिएन । पछिल्लो समय भने क्लब सक्रिय हुँदा प्रतियोगिताले निरन्तरता पाएको छ भने आफ्नै जग्गा खरीद गरेर क्लबले भवन निर्माणको योजना पनि अघि सारेको छ । अहिले कार्यालय सञ्चालनको लागि एउटा भवन भने तयारी गरिसकेको छ ।