धरान: एक जनाको ज्यान जाने गरि धरान १७ आदर्श चोकमा भएको ग्याँस लिकेज घटनामा ग्याँस सिलिण्डर मर्मत गर्न पुगेका २ जना व्यक्तिहरु कुनै पनि डिलर वा आधिकारिक बिक्रेताको नभएको खुलेको छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा ग्याँस डिलर तथा बिक्रेताहरुसँगको छलफलमा घटना भएको घरमा ग्याँस सिलिण्डर मर्मत गर्न जाने २ व्यक्ति गाडीमा ग्याँस सिलिण्डर बिक्री गर्ने भएपनि कुनै पनि डिलरको नभएको व्यवसायीहरुले खुलाएका हुन् । उक्त घटनामा ग्याँस मर्मत गर्न पुगेका अनिष कार्की र वासुदेव खड्का पनि घाइते छन् । 

कार्की र खड्काले कोशी ग्याँसको डिलर अरुण डालमियाको कोशी इन्टरप्राइजेजबाट सिलिण्डरहरु खरिद गरेर आफै गाडीमा बिक्री गर्दै लंैजाने गरेको पनि खुलेको छ । सोही कारण उनीहरुमा ग्याँस सिलिण्डर लिकेज हुँदा सामान्य प्राविधिक ज्ञानसमेत नहुँदा उक्त घटना भएको कोशी ग्याँस कम्पनीका प्रतिनिधि प्रविण सिगौरी बिककले बताए । उनले डिलरहरुले सिधै उपभोक्तालाई ग्याँस बिक्री गर्नुपर्नेमा अनधिकृत व्यक्तिलाई त्यसरी ग्याँस बिक्री गर्नु डिलरको कमजोरी भएको पनि स्वीकारे ।

gas-xalfal1

डिलरले अनधिकृत व्यक्तिलाई ग्याँस बिक्री गर्न दिदा उपभोक्तासँग डिलरको सम्पर्क टुट्ने र केही समस्या हुँदा प्राविधिकरुपमा दक्ष व्यक्ति मर्मत गर्न नपुग्ने जोखिम हुन्छ । धरान १७ को घटना हुनुको मुख्य कारण यही भएको पनि उनले बताए । उक्त घरमा डिलरबाटै सिलिण्डर मर्मत गर्न कर्मचारी पुगेको भए त्यसदिन घटना नहुने पनि उनले बताए । उपभोक्ताहरुले डिलरबाट नै ग्याँस खरिद गर्न र डिलरहरुले पनि सिधै उपभोक्तालाई मात्र ग्याँस बिक्री गर्नुपर्ने पनि उनले आग्रह गरे । 

कम्पनीका प्रतिनिधि बिकले घाइतेहरुको उपचारको खर्च सबै उपलब्ध गराइरहेको पनि जानकारी दिए । घाइतेहरुको किर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ । उनका अनुसार घटना भएकै दिन स्थलगत अनुगमन गर्दा ग्याँस सिलिण्डर बिस्फोट नभएको तर सिलिण्डर लिकेज भएर उक्त घटना भएको हो । घरको सबै झ्याल, ढोका थुनिएको कारण लिकेज भएको ग्याँस बाहिर निस्कन नपाएको र मर्मत गर्न पुगेका २ जनालाई पनि सामान्या ज्ञान नहुदा लाइटर बालेपछि दुःखद घटना हुनपुगेको उनले बताए । उक्त घटनामा घाइते सोनिका राईको उपचारको क्रममा मृत्यु भएको छ भने उनकी दिदी सविता राई, घर भाडामा बस्ने अञ्जना राई, उनकी सासु राजकुमारी राई, ग्याँस मर्मत गर्ने अनिष र वासुदेवको उपचार भइरहेको छ । 

ग्याँस डिलर तथा बिक्रेताहरुलाई कडाई गर्ने 

gas-xalfal

एक जनाको ज्यान जाने गरि धरान १७ आदर्श चोकमा भएको ग्याँस सिलिण्डर लिकेज घटना पछि धरान उपमहानगरपालिकाले एलपी ग्याँस डिलर तथा बिक्रेताहरुलाई कडाई गर्ने भएको छ । उपप्रमुख अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा सोमबार धरानका ग्याँस व्यवसायीहरुसँगको छलफलले जथाभावीरुपमा ग्याँस बिक्रीवितरण गर्न नदिने निर्णय गरेको हो ।

छलफलले इजजात प्राप्त डिलर र व्यवसायीले मात्र ग्याँस बिक्री वितरण गर्नुपर्ने र त्यसो नभएको पाइए सम्बन्धित डिलर तथा बिक्रेतालाई कानुन वमोजिम कारबाही गर्ने पनि निर्णय भएको छ । छलफलले अनिवार्यरुपमा उपभोक्ता तथा प्रयोगकर्तालाई प्रयोग गर्ने विधि सिकाउनुपर्ने पनि निर्णय गरेको छ । यसैगरि, प्रत्येक ग्याँस डिलरले प्राविधिक परिक्षण गरिएका ग्याँस मात्र बिक्रीवितरण गर्नुपर्ने र अनिवार्यरुपमा प्राविधिक राख्नुपर्ने पनि निर्णय गरेको छ । साथै, घटनामा घाइते तथा ज्यान गएको व्यक्तिको सम्बन्धमा कोशी ग्याँस कम्पनी तर्फबाट आवश्यक स्वास्थ्य उपचार तथा क्षतिपूर्ति व्यहार्ने निर्णय पनि भएको छ भने धरानका ग्याँस पसलहरुमा संयुक्त अनुगमन गर्ने निर्णय पनि गरेको छ । 

भिडियो: